कमल र अनु सर्वोत्कृष्ट खेलाडी

भारोत्तोलनका कमलबहादुर अधिकारी र करातेकी अनु अधिकारीले एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ को मुख्य विधा सर्वोत्कृष्ट खेलाडीको अवार्ड शुक्रबार जितेका छन् । अवार्डसंगै दुवैले जनही १ लाख नगद पुरस्कार पाएका छन् । नगद पुरस्कार जनता बैंकले प्रायोजन गरेको हो । दुवैले रुट्स फेसनबाट समान १५–१५ हजारको गिफ्ट भौचर पनि पाए ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्दै आएको अवार्डअन्तर्गत नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तले गजराज जोशी आदर्श खेलाडी अवार्ड प्राप्त गरे । एनएनआईपीए खेल पत्रकारिता अवार्ड नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष एवं बीबीसी नेपाली सेवाका खेल पत्रकार निरञ्जन राजवंशीले पाए । गुप्त र राजवंशीले समान २५–२५ हजार नगद पुरस्कारसंगै रुट्सबाट समान १०–१० हजारको गिफ्ट हात पारे ।


सोही अवसरमा विभिन्न २९ खेलका त्यत्ति नै खेलाडीलाई पनि उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिएको थियो । गत वर्ष राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ का खेलाडीलाई पुरस्कृत गरिएको हो ।
फुटबलकी सावित्री भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इम राना मगर, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी विमला श्रेष्ठ, भारोत्तोलनका कमलबहादुर अधिकारी, लनटेनिसका प्रणव खनाल, सफ्ट टेनिसका युकेश योञ्जन, कबड्डीका नागेश्वर थारु, फेन्सिङका जंग गिरी, हक्कीका मनोज चौधरी, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनार, साइक्लिङका नारयाणगोपाल महर्जन ९स्वर्गीय०, खोखोका सन्तोष बोहरा, बास्केटबलका मानेश राजोपाध्याय, राष्ट्रिय तेक्वान्दोकी सुनिता तामाङ, ब्याडमिन्टनकी नङ्शल तामाङ, ट्रायथलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, करातेकी अनु अधिकारी, जुडोकी मनीता श्रेष्ठ प्रधान, तेक्वान्दोकी अस्मिता खड्का, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गोल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहराले उत्कृष्ट खेलाडी अवार्डका साथै जनही १०–१० हजार नगद पुरस्कार हात पारे । खेलाडी संघले ५ हजार र सम्बन्धित खेलका संघले ५ हजार गरी १० हजार प्रदान गरिएको हो । यी २९ खेलाडीमध्येबाटै एक÷एक सर्वोत्कृष्ट पुरुष÷महिला खेलाडीको चयन गरिएको हो ।
अवार्डकै अवसरमा एएफसी महिला ओलम्पिक २०२० क्वालिफायरको दोस्रो चरणमा पुग्न सफल राष्ट्रिय महिला फुटबल टिमलाई विशेष सम्मान गरिएको थियो ।
खेलाडीलाई सांसद जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव केशवकुमार विष्ट, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाटन दरबार स्क्वायरको संग्राहलयमा भएको अवार्डको यो १३ औं संकरण हो ।

Comment