१० किमी खुल्ला पुरुष दौड सोमबार

Manoj Shiama
31 January, 2015 6:47 pm

पोखरा
६४ औं मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीले सोमबार पोखरामा १० किमी खुल्ला पुरुष दौड, छात्रछात्रा पाँच किमी तथा चार सय मिटर ह्वीलचेयर दौड हुने भएको छ। प्रतियोगिताको उद्घाटन र पुरस्कार वितरण एकेडेमीका संरक्षक एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम संयोजक एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय सदस्य राजेशकुमार गुरुङले जानकारी दिए।

पोखरा रड्डशालामा हुने १० किमी खुल्ला पुरुष दौडमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई नगद १० हजार र तृतीय हुनेलाई नगद सात हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए। १० किमी दौडको रुट पछि तय गरिने भएको छ। यस्तै छात्रछात्रा पाँच किमी दौड र चार सय मिटर ह्वीलचेयर दौडको पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीय हुनेलाई नगद सात हजार र तृतीय हुनेलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी पोखरा रड्डशालामै हुने चार सय मिटर ह्वीलचेयर दौडमा प्रथम हुनेलाई नगद सात हजार, द्वितीय हुनेलाई नगद पाँच हजार र तृतीय हुनेलाई नगद तीनहजार, मेडल र प्रमाणपत्र प्रदान गरिने मदन भण्डारी स्पोर्टस् एकेडेमी कास्कीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए।