पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी गुरुङ सम्मानित

rekha gurung

पोखरा
लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्याली पोखरामा सम्पन्न डिस्ट्रिक्टस्तरीय आठौं अन्तरलायन्स मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उद्घाटनको अबसरमा भलिबलका पूर्व राष्ट्रिय महिला खेलाडी रेखा गुरुङलाई सम्मान गरिएको थियो। उनलाई प्रमुख अतिथि लायन्स क्लब ३२५ बी वान नेपालका डिस्ट्रिक्ट गभर्नर भूगोल शेरचनले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेकी थिइन्।
अन्तरमावि वीरेन्द्रशिल्ड–२०४२ देखि राष्ट्रिय टीमबाट खेलेकी सम्मानित व्यक्तित्व गुरुङ आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०४५ मा प्रथम, राष्ट्रिय युवा महोत्स खुल्ला भलिबल प्रतियोगिता–२०४६ मा प्रथम, पश्चिमाञ्चल क्षेत्रीय अन्तरक्याम्पस महिला भलिबल प्रतियोगिता–२०५० मा प्रथम, काठमाडौं–पोखरा अन्तर भलिबल प्रतियोगितामा टीम प्रथम हुँदा सर्वोत्कृष्ट खेलाडी, अन्तरसंकाय भलिबल प्रतियोगिता–२०४७, २०४८, २०४९ र २०५० मा लगातार टीम प्रथम हुँदा लगातार सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।
सो अवसरमा सम्मानित व्यक्तित्व रेखा गुरुङले सम्मानित हुन पाउँदा अत्यन्तै गौरव लागेको बताइन्।कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ बी वान नेपालका डिस्ट्रिक्ट गभर्नर भूगोल शेरचनले  पोखरामा लायन्स क्लबअन्तर्गतका सम्पूर्ण शाखाले राम्रो काम गरेको बताइन्।
यस्तै लायन्स क्लब अफ नेपालका मल्टीपल आईपीएफसीसी दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ बी वान नेपालका डिस्ट्रिक्ट एडभाइजर धनराज आचार्य, कार्यक्रम संयोजक नारायणप्रसाद शर्मा, लायन्स क्लब अफ सेन्ट्रल टाउनका तृतीय उपाध्यक्ष ऋषिराम भण्डारीलगायतले मन्तव्य राखेका थिए।
लायन्स क्लब अफ सेन्ट्रल टाउनका अध्यक्ष चण्डीप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देवकृष्ण काफ्लेले गरेका थिए।

Comment