राष्ट्रिय पुरुष क्लव लिग भलिबल पोखरामा

नेपाल भलिबल संघको आयोजनामा यहि पुष एक देखि सात गतेसम्म पोखरामा राष्ट्रिय पुरुष क्लव लिग भलिबल प्रतियोगिता गर्ने भएको छ । पहिलो पटक काठमाडौं बाहिर संघले आयोजना गर्न लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । यसअघि गत बर्षको फागुनमा भएको एनभिए राष्ट्रिय क्लव च्याम्पियनसिपमा सहभागिता जनाएको १२ टिम मध्ये शिर्ष ८ मा पर्न सफल टिमले लिगमा भाग लिनेछन । संघले यो प्रतियोगिता गत जेठमा नै गर्ने बताएपनि सो बेला एशियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो । आईतवार पत्रकार सम्मेलनमा नेपाल भलिबलका अध्यक्ष मनोरञ्जन रमण शर्मा, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, महसचिब जितेन्द्र वहादुर चन्दले प्रतियोगिताका बारेमा जानकारी गराए । सो अवसरमा राष्ट्रिय बाणिज्य बैंकका डिजिएम टेक राज जोशी,मारकेटिङ प्रमुख सुनिता मनन्धर र नेपाल भलिबल संघ का पदाधिकारीको उपस्थिति रहेको थियो । संघले बार्षिक कार्यक्रम मध्ये क्लव लिगलाई पहिलो पटक काठमाडौं बाहिर गर्न लागेको हो । प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैया पाउनेछन । यस्तै चौथो हुनेले २५ हजार रुपैया हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले ५–५ हजार रुपैया हात पार्नेछन ।
प्रतियोगितालाई सम्पन्न गर्न कुल २१ लाख रुपैया बजेट अनुमान गरिएको छ । जसमा पुरस्कारमा मात्रै ४ लाख ३० हजार रुपैया छुट्याइएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिममा नयाँ बजार सामाजिक युथ क्लब, हेल्प नेपाल स्पोर्टस क्लव,नेपाल पुलिस क्लव,सशस्त्र प्रहरी बल,त्रिभुवन आर्मी क्लव,मणिमुकुन्द भलिबल क्लव(बुटवल),जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्र रहेका छन् ।

Comment