चितवन फाइनलमा

काठमाडौं रोयल्सलाई पराजित गर्दै चितवन राइनोज पोखरा प्रिमियर लिग(पीपीएल)को फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि चितवनले घरेलु टोली पोखरा पल्टनको सामना गर्ने छ । पोखरा शुक्रबार नै समुहको शीर्षमा रहँदै फाइनल प्रवेश गरिसकेको थियो । फाइनल मंगलबार हुनेछ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार भएको इलिमिनेटरमा काठमाडौंलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको नेतृत्वमा रहेको चितवन उपाधि नजिक पुगेको हो ।
काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको थियो । चितवनका लागि स्मिथ पटेलले ३८ रन जोडे। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरे। यस्तै हरिशंकर साहले २६ रन बनाए भने आरिफ सेखले नटआउट २० रन जोडे । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सिमित भएको थियो ।

Comment