चितवन टाईगर्स च्याम्पियन

आधी–आवाधी एनभीए महिला भलिबल प्रतियोगितामा चितवन टाईगर्स च्याम्पियनको बनेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा चितवनले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको हो । त्रिपूरेश्वरस्थित दशरथ रंगशालाको कवर्डहलमा तीन अमेरिकी खेलाडी र अमेरिकी प्रशिक्षक रहेको चितवनले विभागीय टिम एपीएफलाई खेलभरी नै दबाबमा राख्यो । पहिलो सेट २५–२० ले जितेको चितवन पछिल्लो दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१७ र २५–११ ले विजयी भयो । उपाधिसँगै चितवनले ६ लाख रुपैयाँ पुरस्कार जितेको छ । उपविजेता बनेको एपीएफले तीन लाखमा चित्त बुझाएको छ । तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार पाएको छ । तेस्रो स्थानको प्लेअफमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२१ र २५–१९ को सोझो सेटमा हराएको थियो ।
चितवन टाइग्रेसकी सेटर अरूणा शाही उत्कृष्ट् खेलाडी चुनिईन् । उनले नगद ५० हजार र एक थान स्कुटर जितिन् । प्राय पश्चिमाञ्चलबाट स्पाईकरको भूमिकामा कोर्टमा उत्रिने अरुणाले सेटरको भूमिकालाई प्रामाणित समेत गरेकी छिन् । अरुणाले सेटरको रुपमा राष्ट्रिय टिममा आफ्नो दावेदारी पनि प्रस्तुत गरेकी छिन् ।
विजयी टोलीलाई पूर्व मन्त्री तथा सांसद शेरबहादुर तामाङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्द,आदीअवादी फाउन्डेसनका सिईयो दिनेश सिंहलगाउतले पुरस्कार वितरण गरेका थिए ।

Comment