न्यू डायमण्डको उत्कृष्ट प्रदर्शन

ranjan khadka
दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यू डायमण्ड एकेडेमीले उत्कृष्ट खेल प्रदर्शन गदै लगातार छैठौं जित निकालेको छ । शुक्रवार भएको खेलमा न्यू डायमण्डले पुलिसलाई पराजित गरे पछि अपराजित रहदै ६ खेलबाट १८ अंक सहित एपीएफसँग वरावरी गरेको छ । न्यूडायमण्डले महत्वपूर्ण खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो र दोश्रो सेट समान २५–१८ मा न्यूडायमण्डले आफ्नो पक्षमा पारेको थियो ।
तेश्रो क्वाटरमा भने पुलिसले खेलमा फर्कन संकेत देखाउदै २४–२१ ले सेट पइन्टमा पुगे पनि नतिजामा परिणत गर्न सकेन । २१–२४ ले पछि परेको न्यूडायमण्डले पुलिसलाई २४ मै रोक्दै लगातार ५ अंक जोड्दै २६–२४ मा म्याच पइन्ट बनायो । वुमन अफ द म्याच चुनिएकी प्रतिभा मालीको खेलबाट प्रभाबित भएर पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्काले ५ हजार नगदबाट पुरस्कृत गरे । पहिलो पराजय ब्यहोरेको पुलिसको ६ खेलबाट  १५ अंक छ ।
त्यस्तै चण्डेश्वरीले त्रिभुवन आर्मीलाई २२–२५,२६–२८, २६–२८ र २०–२५ को सेटमा पराजित गरेको छ । अर्को खेलमा ढोरपाटनले काभ्रेलाई २५–५,२५–११ र २५–१६ को सोझो सेटमा हरायो । शुत्रवारको अन्तिम खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २५–६,२५–३ र २५–४ को सोझो सेटमा रोक्यो । प्रतियोगिता अन्तर्गत भोलि पश्चिमाञ्चल र त्रिभुवन आर्मी, न्यू डायमण्ड र काभ्रे तथा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन ।

Comment