पश्चिमाञ्चल टिम च्याम्पियन


पश्चिमाञ्चलले चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०७१ को उपाधि बुधबार जितेको छ । टिम च्याम्पियन पश्चिमाञ्चलले समान ५–५ स्वर्ण, रजत र कांस्य हात पार्‍यो । राष्ट्रिय तेक्वान्दो युनियन– नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ११ कांस्यसाथ मध्यमाञ्चल दोश्रो भयो । तेश्रो भएको विश्वविद्यालयले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । प्रतियोगिताको पुरुषमा सुदूरपश्चिमाञ्चलका करणदेव जोशी तथा महिलामा पूर्वाञ्चलकी सुजना विक उत्कृष्ट खेलाडी घोषित भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमी कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुष ८७ केजीमा सुदूरपश्चिमाञ्चलका धीरेन्द्रसिंह कठायत, ८० केजीमा विश्वविद्यालयका दिनेश सुनुवार, ७४ केजीमा सुदूरपश्चिमाञ्चलका करणदेवी जोशी तथा ५० केजीमा पश्चिमाञ्चलका सन्तोष आले मगरले स्वर्ण जिते । महिलाको ४० केजीमा राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघकी रुपा थापा, ४९ केजीमा पश्चिमाञ्चलकी सलिना केसी र ५३ केजीमा सुदूरपश्चिमाञ्चलकी सुनीला राई पहिलो भए ।
विजेतालाई राखेप सदस्य–सचिव युवराज लामा, अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुन केसी, आयोजक संघका अध्यक्ष शिव कोइराला र महासचिव राजकुमार कार्की तथा प्रमुख प्रशिक्षक एकनाथ थापाले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ७ टिमका १ सय ४० खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिताको आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी सुनसरीको इटहरीमा फागुनमा हुने प्रथम त्रिलोक सुब्बा स्मृति अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएको महासचिव कार्कीले जनाएका छन् । साथै कार्कीले जनाएअनुसार पहिलो खेलाडीलाई राष्ट्रिय टिममा समावेश गरिनेछ ।

 

Comment