जुडो टोलीको बिदाइ

दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत जुडोमा सहभागी हुनेनेपाली टोलीलाई सोमबार बिदाइ गरियो । सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने जुडोमा ४ पुरुष र ३ महिला खेलाडीले व्यक्तिगत र टिम इभेन्टमा भाग लिदैछन् ।
पुरुषको १ सय केजीमाथि राजन जोशी, ९० केजीमुनि श्रीराम मकाजु, ६६ केजीमुनि रमेश मगर र ६० केजीमुनि सरोज महर्जन रहेका छन् । महिलाको ७८ केजीमाथि सुनीता बोहरा, ६३ केजीमुनि फुपुल्हामु खत्री र ५२ केजमिुनि देविका खड्का छन् ।
अफिसियलमा नेपाल जुडो संघका उपाध्यक्ष सुदेव महत र कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठ, प्रशिक्षकमा वीरेन्द्र रन्जित, व्यवस्थापकमा धर्मरत्न पछाईं तथा निर्णायकमा धर्मकुमार श्रेष्ठ छन् । विपिनले आफ्नो सम्पूर्ण खर्च आफैले व्यहोर्ने बताए ।
जुडो संघका अध्यक्ष एवं एसियाली जुडो महासंघका उपाध्यक्ष दीपकहर्ष वज्राचार्य पनि इन्चोन जाँदैछन् । वज्राचार्य र निर्णायक श्रेष्ठ मंगलबार इन्चोन जानेछन् भने बाँकी सेप्टेम्बर १७ तारिख मा उडने छन् ।
बिदाइका अवसरमा जुडो संघका अध्यक्ष वज्राचार्यले विभिन्न विधा वर्गिकरण गरी नगद पुरस्कारघोषणा गरे । खेल हारेपनि निर्धारित पूरै समय टिकेर खेल्ने खेलाडीलाई १० हजार जुडो संघले प्रदान गर्नेछ । पुरुषको ५ मिनेट र महिलाको ४ मिनेटको खेल हुन्छ । त्यस्तै एक बाउट जित्नेलाई १५ हजार, दुईलाई २५ हजार र ३ लाई ४० हजारबाट पुरस्कृत गरिनेछ । त्यस्तै स्वर्णलाई १ लाख, रजतलाई ७५ हजार र कांस्यलाई ५० हजार नगद पुरस्कार दिइने वज्राचार्यले जानकारी गराए ।

Comment