शिवम् न्युडायमण्ड च्याम्पियन


प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगितामा शिवम् न्युडायमण्ड च्याम्पियन भएको छ । मंगलवार वेष्ट अफ फाईभको आधारमा भएको फाईनल खेलमा शिवम् न्युडायमण्ड एकेडेमीले पारामाउण्ड एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २०–२५ ले गुमाएको शिवम् न्युडायमण्डले दोश्रो र तेश्रो सेट २५–१९ र २५–२३ ले आफ्नो नाममा लेखाउदै सेटमा २–१को अग्रता लिएको थियो । चौथो सेटको शुरुवातमा शिवम् न्युडायमण्डले लय गुमाए पछि ४–१४ ले पछि परेको थियो । शिवम् न्युडायमण्डले खेलमा फर्कदै १० अंकले पछि परेको अवस्थालाई सुधार गदै खेललाई २४–२० को अवस्थामा पुर्याउन सफल भएको थियो । अन्तत पारामाउण्डले न्युडायमण्डलाई रोक्दै २८–२६ ले चौथो सेट आफ्नो पक्षमा पारे पछि खेल पाँचौ सेटमा लम्कियो । निर्णयक सेट भने न्युडायमण्डले १५–१० ले आफ्नो पक्षमा पादै च्याम्पियन बन्यो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचालन भएको प्रतियोगिताको सर्वौकृष्ट खेलाडीको उपाधि शिवम् न्युडायमण्डकी बाल्मिका आचार्यले जितिन् । प्रतियोगिताको बेष्ट स्पाईकरको उपाधि पारामाउण्टकी सृष्टी खड्गीले जितिन् । बेष्ट सेटर शिवम् न्युडायमण्डकी अनिषा सुनुवार चुनिदा न्युडायमण्डकै रस्मिता दुरा बेष्ट सर्भर भईन् । पारामाउण्टकी सम्पदा श्रेष्ठ बेष्ट डिफेन्डर भईन् ।
न्यु डायमण्ड एकेडेमीको कोर्टमा भएको प्रतियोगिताको विजेता शिवम् न्युडायमण्डले ४५ हजार,उपबिजेता पारामाउण्डले २५ हजार,तेश्रो हुने बिजेश्वरीले १५ हजार र चौथोले १० हजार प्राप्त गर्यो । बिजेता टिम तथा खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले पुरस्कृत गरेका थिए ।

Comment