केएनपी राष्ट्रिय महिला भलिबलको सेमिफाइनल समीकरण पूरा

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएका खेलमा जित हात पार्दै शिवम् न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघले अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो । पश्चिमाञ्चल समूह ‘ए’ र पुलिस समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजेताका हैसियतमा सेमिफाइनलमा स्थान बनाएका थिए ।
इनलमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उपविजेता न्यु डायमन्ड एकेडेमी तथा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चल भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेल सोमबार हुनेछ ।
आइतबार भएको पहिलो खेलमा शिवम् न्यु डायमन्ड एकेडेमीले कठिन जित निकाल्यो । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै न्यु डायमन्डले अन्तिम चारमा स्थान बनायो । न्यु डायमन्डले आर्मीलाई २५–१९, १९–२५, २५–१८, २२–२५ र १५–१० ले पाखा लगायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो । एकपक्षीय खेलमा पश्चिमाञ्चलले २५–१३, २५–२० र २५–२० को जित निकाल्यो ।
२५ बैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगकम नटआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट हुने खेलाडीले जनही पाँच हजार पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Comment