साग पूर्वाधार तथा तयारी समितिले प्रतिवेदन बुझायो
Manoj Shiama
6 April, 2018 9:41 pm
नेपालले आयोजनाको जिम्मेवारी पाएको आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई प्रतिवेदन बुझाए ।दक्षिण एसियाली ओलम्पिक काउन्सिलले १३ औं सागमा २५ खेल समावेश गर्ने निर्णयलाई लक्षित गरी प्रतिवेदन तयार पारिएको थियो । काउन्सिलले १३ औं सागमा आर्चरी, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, ह्यान्डबल, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, टेबलटेनिस, स्क्वास, कबड्डी, खो खो, लनटेनिस, सुटिङ, पौडी, साइक्लिङ, फेन्सिङ, कराते र गल्फ समावेश गर्ने निर्णय गरेको थियो ।
प्रतिवेदनमा आर्चरी, भलिबल, ह्यान्डबल, महिला फुटबल र ट्रायथलनलाई पोखरामा आयोजना गर्न प्रस्ताव गरिएको छ । साइक्लिङ काठमाडौं, चितवन वा नवलपरासी मध्ये एक स्थानमा गर्न उपयुक्त हुने सुझाव दिइएको छ । बाँकी खेललाई काठमाडौंमा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै सागमा समावेश खेलका खेल स्थल र प्रशिक्षणका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मौजुदा पूर्वाधारलाई उचित मर्मत सम्भार गरी खेल खेलाउन उपयुक्त बनाउनुका साथै निर्माण गर्नु पर्ने नयाँ पूर्वाधारका विषयमा उल्लेख छ ।
समितिले परिषद् मातहत रहेका पूर्वाधारका साथै नेपाली सेना, नेपाल प्रहरी, एपीएफ र विभिन्न संस्थाका पूर्वाधारको समेत अवलोकन गरेको थियो ।