मेयर कप बास्केटबल बैशाखमा


कीर्तिपुर नगरपालिकाको आयोजनामा प्रथम मेयर कप ३ नम्बर प्रदेश स्तरीय अन्तरनगरपालिका बास्केटबल प्रतियोगिता बैशाख २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ पुरुष टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी गराए ।
प्रत्येक टोलीमा सम्बन्धित नगरपालिकाबाट कम्तीमा ८ खेलाडी हुनै पर्ने प्रावधान छ । त्यस्तै बाहिरबाट बढीमा ४ खेलाडी टोलीमा समावेश गर्न पाइने छ । तर, ‘प्लेइङ सेट’ मा भने बाहिराका २ खेलाडी मात्र समावेश गराउन पाइने नियम राखिएको छ ।
विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक स्कोरकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिताका लागि अनुमानित ५ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
प्रदेश नम्बर ३ मा रहेका नगरपालिकाबीचको सम्बन्धलाई अझ सुमधुर बनाउदै लाने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मेयर महर्जनले बताए । कीर्तिपुरमा हुने प्रतियोगिताको फाइनल बैशाख २९ गते हुनेछ ।

Comment