सुस्मिता अगाडि


मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औं पुरुष तथा २२ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन बुधबार महिला १० मिटर एयर राइफलमा ३ सय ८३ अंकको अग्रता बनाएकी छिन् ।‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४ सय पूर्णाङकमा ३ सय ८३ अंक जोड्दै पहिलोको दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहाराज्यलक्ष्मी राणा पनि त्यत्तिनै अंकसाथ दोश्रो स्थानमा छिन् । यो स्पर्धामा स्नेहाको नाममा ३ सय ८९ अंकको राष्ट्रिय कीर्तिमान छ । ‘लास्ट सिरिज’ मा सुस्मिता स्नेहा भन्दा २ अंक बढी जोडेदै पहिलो स्थानमा छिन् । ‘लास्ट सिरिज’ मा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेका थिए । अर्की ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकी तेश्रो स्थानमा छिन् । फुलमायाको ३ सय ७७ अंक छ ।
पुरुष १० मिटर एयर राइफलको ६ सयमा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक) तथा आर्मीका कुमार कार्की (५६० अंक) क्रमशः पहिलोदेखि तेश्रो स्थानमा छन् । अर्नभ र कुमारको समान अंकभएपनि ‘लास्ट सिरिज’ मा अर्नभले ९४ र कुमारले ९२ अंक जोडेका थिए ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलको ६ सयमा ५४३ अंक जोड्दै नेपाल आर्मीका कुवेर केसी पहिलो स्थानमा छन् । ५२४ अंकसाथ पूर्वाञ्चलका सत्रुघन दास दोश्रो तथा ४६३ अंकसाथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेश्रो स्थानमा छन् ।
सोही स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ३५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३४३ तथा प्रहरीकी सीमा चौधरीले ३३१ अंकको प्रदर्शन गरे । उक्त स्पर्धा ४ सय पूर्णाङकको थियो ।
आ–आफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनः फाइनलमा प्रतिस्पर्धा गराइने छ । फाइनल २ सय ४० अंकको हुनेछ । प्रतियोगिताको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Comment