मिन र आईषाले उचाले रिकर्भ ब्यक्तिगत उपाधी


राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४ अन्तरगत भएको आठौं राष्ट्रिय आर्चरी च्याम्पियनसिपको रिकर्भ ब्यक्तिगत ७० मिटरमा पुरुष तर्फ मिन गौचन र महिला तर्फ आईषा तामाङ्गले आईतबार उपाधी उचाल्न सफल भएका छन् ।
थासाङ्ग स्पोर्टस् क्लबका गौचनले स्वयंभु आर्चरी क्लबका प्रेम प्रसाद पुनलाई फाईनलमा ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे । कास्की आर्चरी क्लबका तिलक पुन मगरले कास्य पदक पाए ।
महिला तर्फ सेनाकी आईषाले आफ्नै दिदी सेनकी ज्ञानु अवालेलाई ६–४ अंकले पराजित गर्दै स्वर्ण हात पारिन् । तेश्रो स्थानमा कञ्चनपुर आर्चरी क्लबकी तमन्ना क्षेत्री रहिन् ।
दशरथ रङ्गशालामा भएको च्याम्पियनसिपको कम्पाउण्ड ५० मिटर ब्यक्तिगत पुरुष तर्फको प्रतिस्पर्धामा राजधानी आर्चरी क्लबका सनातन मल्लले वेष्ट आर्चरी क्लबका प्रजित अग्रवाललाई पाखा लगाउंदै स्वर्ण जित्न सफल भए । सनातनले १४० अंक प्राप्त गर्दा प्रजितले ११९ अंक प्राप्त गरे ।
यस्तै पुरुष स्ट्याण्डर्ड ब्यक्तिगत ३० मिटर तर्फको प्रतिस्पर्धामा स्वयंभु आर्चरी क्लबका धनेन्द्र छन्त्यालले स्वर्ण हात पारे । उनले बेष्ट अफ फाईभको गेममा ६ अंक बटुले । दोश्रो स्थानमा रहेका वेष्ट आर्चरीका नविन विर बस्न्याटले रजत पदक पाए । उनले ४ अंक जोडे । नेपाली सेनाका डम्बर थापाले कास्य पाए ।
सोही विधाको महिला तर्फ अन्नपूर्ण आर्चरी क्लबकी केशरी आले मगरले नेपाली सेनाकी मित्रा राईलाई ७–३ अंकले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । तेश्रो स्थानमा अन्नपूर्ण आर्चरी क्लबकी रोजीना थापामगर रहिन् ।
पुरुष स्ट्याण्डर्ड ३० मिटर टिम तर्फको प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनालाई स्वर्ण दिलाउन डम्बर थापा, तविन गुरुङ्ग र प्रेम वि.क.को टिमले ५ अंकको योगदान गरेका थिए । रजत पदकमा सिमित भएको वेष्ट आर्चरी क्लबका नविन विर बस्न्यात, जोर्डन विक्रम थापा र ग्रिष्मा गुरुङ्गको टोलीले एक अंक मात्र हासिल गर्दै दोश्रो स्थानमा चित्त बुझायो । अन्नपूर्ण आर्चरी क्लबका करुण बराल, शंकर थकाली र हिम कुमार रानामगरको टोलीले कास्य पायो ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए । दुई दिने च्याम्पियनसिपमा ७८ खेलाडीहरुले विभिन्न ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

Comment