आठारौं एसियाली खेलकुद परिणाममुखी बनाउनेमा जोड


नेपाल ओलम्पिक कमिटी (एनओसी) ले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यल कार्य गर्ने बताएको छ । खेलाडी सहभागीताको विषयमा विगतको रेकर्ड, सम्भावना बोकेको खेल र सफलता हात पार्ने आधारलाई ध्यान दिने एनओसीले बताएको छ ।
नेपाल ओलम्पिक कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै विगतका एसियाडमा झै सहभागितालाई मात्र केन्द्रित नगरी टिम तयारीको विषयमा एनओसीले विशेष ढंगले संलग्नता जनाउने बताएको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले चुनावपछि बन्ने नयाँ सरकारकासँग समन्वयन गरी टिम तयारीमा विशेष ध्यान दिने बताए । प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र ८ बाट वामगठबन्धनका उम्मेदवार समेत रहेका श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय स्तरको कर्भडहल निर्माणका लागि ४ करोड दिन लागेको बताउँदै काठमाडौं क्षेत्र नं ८ को डल्लु आवास क्षेत्रमा कर्भडहल निर्माण गर्ने बताए । ‘यसका लागि छलफल समेत भइसकेको छ । काठमाडौं ८ मा नै अन्तर्राष्ट्रियस्तरको कर्भडहल निर्माण हुने छ ।’
उनले सोही अवसरमा देशको खेलकुद क्षेत्रको विकासका लागि नयाँ ढंगले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘यो पटक विशेष ढंगलले तयारी गरी परिणामुखी बनाउने छौं । खेलाडी सहभागिता गराउन चाहने संघले कस्तो परिणाम प्राप्त गर्न सक्ने हो र त्यसका आधार पेस गर्नुपर्ने छ । हचुवाका भरमा र सोर्स फोर्समा अब एसियाडमा सहभागिता हुने छैन ।’ उनले भने, ‘खेलाडी छनोट प्रक्रिया पारदर्शी हुनुपर्छ । सबैले छनोटमा सहभागी हुने अवसर पाउनुपर्छ । यसका लागि विशेष पहल हुन्छ ।’
१८ औं एसियाडमा विभिन्न ४० खेलमा ४ सय ६२ इभेन्टमा प्रतिस्पर्धा हुँदै छ । एनओसीले एसियाडमा राम्रो नतिजा ल्याउनका लागि विशेष प्रशिक्षणका कार्यक्रम गर्ने बताएको छ । ‘वैदेशिक सहयोग लिएर विदेशी प्रशिक्षक झिकाउने र केहि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने विषयमा ओलम्पिकले काम गरिरहेको छ ।’ श्रेष्ठले भने, ‘निर्वाचन लगत्तै तयारीमा जुट्ने छौं ।’
नेपालले विगतका दुई एसियाडमा तितो अनुभव गरेको छ । जम्बो टोलीको सहभागिता रहे पछि चीनको ग्वान्जाउमा भएको १६ औं एसियाड र दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाडमा १÷१ कास्य पदकमा चित्त बुझाएको थियो । १६ औं एसियाडमा बक्सिङको ८१ केजी तौलसमूहतर्फ दिपक महर्जनले कास्य पदक जितेका थिए भने १७ औं एसियाडमा विमला तामाङले करातेको एकल कातामा कास्य जितेकी थिइन् । त्यस अघि दोहामा भएको एसियाडमा भने नेपालले तीन कांस्य पदक जितेको थियो ।
त्यसैगरी एसियाली खेलकुदको प्रबद्धन र सफलताका लागि १० अप्रिलमा एनओसीले फन रन समेत आयोजना गर्ने भएको छ । एसियाली खेलकुदमा समावेश विभिन्न खेल इन्डोनेसियको दुई सहर जकार्ता र पालेम्वाङमा हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
सेफ दि मिसनको बैठकमा राणा ः
एनओसीले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदको तयारीको विषयमा हुने सेफ दि मिसनको बैठकमा कमिटीकी उपाध्यक्ष ज्योति राणालाई पठाउने भएको छ । सो तयारी बैठक १२ देखि १४ डिसेम्बरसम्म हुँदै छ । त्यसैगरी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि उक्त बैठकमा सहभागी हुने छन् । १८ औं एसियाडको सेफ दि मिसन भने पछि तोकिने एनओसी अध्यक्ष श्रेष्ठले बताए ।

Comment