युवा सञ्जाल लुम्लेलाई भलिबल जर्सी हस्तान्तरण

Manoj Shiama
17 January, 2015 9:28 am

bulls man jersye

पोखरा

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी फागुन महिनामा हुन गइरहेको गाविसस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने तयारीमा रहेको लुम्लेका खेलाडीको लागि शुक्रबार भलिबल जर्सी हस्तान्तरण गरियो।

नाइस भ्यू लज लुम्ले–७ का प्रोप्राइटर एवं हिमालय मावि लुम्ले–८ तोल्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिमान गुरुङले प्रायोजन गरेको १० थान जर्सी प्रमुख अतिथि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले शुक्रबार एक कार्यक्रममा युवा सञ्जाल लुम्लेका अध्यक्ष नवीन गुरुङलाई हस्तान्तरण गरे।
सो अवसरमा अध्यक्ष न्यौपानेले यस्ता कार्यक्रमले भलिबल खेलाडीलाई हौसला मिल्ने भन्दै भलिबल खेलको विकासको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए।उनले कास्कीमा पुरुष भलिबल खेलको स्तर बढाउन पनि यसले महŒवपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
जर्सी प्रायोजक हरिमान गुरुङले लुम्ले गाविसबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने काममा आफ्नो सहयोग सधैँ जारी रहने बताए।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले गुरुङले जस्तै सबैले भलिबललाई माया र सहयोग गरेको खण्डमा कास्की जिल्लाको भलिबल खेल माथिल्लो स्तरमा पुग्ने दाबी गरे। खेल खेल्न जानेर मात्र खेलाडी नभइने भन्दै उनले अनुशासनले नै उसको स्तर निर्धारण गर्ने बताए।
सो अवसरमा समाजसेवी मेजर बलबहादुर गुरुङले खेलाडीको लागि १० हजार र पूर्व भलिबल खेलाडी दुर्गा विकले दुई हजार सहयोग गर्ने घोषणा गरेका थिए। यस्तै युवा सञ्जाल लुम्लेका अध्यक्ष नवीन गुरुङले गाविसबाट सहभागी हुने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा युवा सञ्जाल लुम्लेका सचिव विजमान गुरुङ, कराँते खेलाडी महेश थापा र समाजसेवी देवबहादुर गुरुङले पनि बोलेका थिए।
युवा सञ्जाल लुम्लेले वार्षिकरूपमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ भने यसैवर्ष आँखा शिविर पनि सञ्चालन गरेको थियो।