सदाबाहर धबीका कान्छीमाया सहित ५ खेलाडीको मनोनयन


नेपाल खेलकुद पत्रकार मञ्चले २६ भदौमा आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधामा ५–५ जनाको मनोनयन सार्वजिनक गरेको हो । राजु घिसिङ तामाङ संयोजक तथा निरन्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, प्रजित शाक्य, सरिता श्रेष्ठ, आदर्श ढकाल र प्रज्वल ओली सदस्य रहेको खेलाडी छनोट समितिको सिफारिसअनुसार मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षका उत्कृष्ट महिला खेलाडीमा एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, ब्याडमिन्टनकी नङ्सल तामाङ, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई रहेका छन् । हाफ म्याराथन र म्याराथनमा राष्ट्रिय कीर्तिमान कायम गरेकी कोजु सातौं राष्ट्रिय खेलकुदमा ५ हजार र १० हजार मिटरमा स्वर्णका साथै गुणा ४ सय मिटर रिलेमा रजत जित्न सफल भएकी थिइन् ।
आर्चरीकी ज्ञानु अवालेले कृष्णमाया स्याङ्तन र आइसा तामाङसंग मिलेर इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिप २०१७ ढाकामा रिकर्भ ७० मिटर टिम स्पर्धामा रजत पदक जितेकी थिइन् । सो प्रतियोगितामा ज्ञानुले सर्बाधिक ५६४ अंक जोडेकी थिइन् ।सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी उनले रिकर्भ ७० मिटरमा ३ सय अंक पार गरेकी थिइन् । आर्मीकी उनले मिक्स टिम इभेन्टमा पनि रजत जितेकी थिइन् ।
नङ्सलले भाइ रत्नसंग मिलेर पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्सतर्फ च्याम्पियन बनेकी थिइन् । उनी बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वाटरफाइनल पुगेकी थिइन् ।सातौं राष्ट्रिय खेलकुदमा उनी वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धामा स्वर्ण तथा वुमेन्स डबल्समा कांस्य जित्न सफल भएकी हुन् ।
सावित्राले अन्तर्राष्ट्रिय खेलमा १३ गोल तथा राष्ट्रिय प्रतियोगितामा २९ गोल गरिन् । सिलीगुढीमा भएको चौथो साफ वुमेन्स च्याम्पियनसिपमा सर्बाधिक १२ गोल । उनले राष्ट्रिय महिला लिगमा सर्बाधिक १६ गोल गरेकी थिइन् । सरस्वतीले रियो ओलम्पिकमा १५ सय मिटरमा २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

 

Comment