पारा जुडो टोली भारत जाने


अन्तर्राष्ट्रिय दृष्टिविहीन पारा जुडो प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात जाँदैछ ।
नेपाली टोली गुजराजको ‘प्रेरणा’ नामक संस्थाको निमान्त्रणमा सहभागी हुन लागेको हो । अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा प्रकाश पाण्डे, ६६ केजीमा आदित्स शेर्पा र ७३ केजीमा मनोज भट्टले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
टोली नेतामा नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ र प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् । टोलीलाई लायन्स क्लबको काठमाडौं स्वनिगाले ट्रयाकसुट, ब्याग र जुत्ता प्रायोजन गरेको छ । उक्त सामाग्री बिदाइ कार्यक्रममै हस्तान्तरण गरिएको थियो ।
गत वर्ष भारतको लखनउमा भएको चौथो राष्ट्रिय ब्लाइन्ड तथा डेफ जुडो च्याम्पियनसिपमा आदित्य र मनोजले रजत जितेका थिए । टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जनले शुक्रबार बिदाइ गरे । कार्यक्रममा महर्जनले संघले सहयोगी हात खोजी रहेको अवस्थामा लायन्स क्लब अगाडि आएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

 

Comment