राष्ट्रपति रनिङ सिल्डमा अजितको कीर्तिमान


मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अजितले निर्धारित दूरी ४ मिनेट ०३.३८ सेकेन्डमा पूरा गर्दै आफैले अघिल्लो संस्करणमा बनाएको ४ मिनेट १४.५ सेकेन्डको कीर्तिमानमा सुधार गरे । सुदूरपश्चिमाञ्चलका सुनील सुनार दोश्रो र मध्यपश्चिमाञ्चलका माधवकुमार चौधरी तेश्रो भए । सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी राममाया बुढाले दूरी ५ मिनेट १७.०४ सेकेन्डमा सकाउदै पहिलो भइन् । मध्यपश्चिमाञ्चलकै आशा राउत दोश्रो र मध्यमाञ्चलकी हुमी बुढा मगर तेश्रो भइन् ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको छात्र लङजम्पमा पश्चिमाञ्चलका प्रभु थारु पहिलो भए । उनले १.६० मिटर उचाईं नाघे । पश्चिमाञ्चलकै महेन्द्र कार्कीले रजत तथा मध्यपश्चिमाञ्चलका सुजन चौधरीले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी गायत्री चौधरीले १.३८ मिटर उचाईं नाघ्दै शीर्ष स्थानमा रहिन् । पश्चिमाञ्चलकी कुसुम राना मगर दोश्रो र मध्यमाञ्चलकी नेलिना श्रेष्ठ तेश्रो भए ।
कराते ः अनिल पहिलो
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको करातेको छात्र ४२ केजीमा मध्यमाञ्चलका अनिल उपरकोटी पहिलो भए । फाइनलमा उनले पश्चिमाञ्चलका बुद्ध लामालाई पराजित गरे । ४७ केजीमा मध्यमाञ्चलका साजन लामाले स्वर्ण चुमे । उनले उपाधि भिडन्तमा मध्यपश्चिमाञ्चलका गोपाल घर्ती मगरलाई हराएको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
छात्राको ४० केजी फाइनलमा मध्यमाञ्चलकी जिया खड्गीले पश्चिमाञ्चलकी मंगला बुढा मगरलाई पाखा लगाउदै स्वर्ण जितिन् ।
उसु ः दुई स्वर्णका लागि भिडन्त
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुको पहिलो दिन दुई स्वर्णको टुंगो लागेको छ । छात्र र छात्रामा ३–३ गरी जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । छात्र छाङ छ्वानमा मध्यमाञ्चलका राजिव तामाङ पहिलो भए । उनले सर्वाधिक ९.१५ अंक जोडे । मध्यमाञ्चलकै रविन तामाङ दोश्रो तथा सुदूरपश्चिमाञ्चलका पावल कार्की तेश्रो भए । उक्त स्पर्धाको छात्रामा मध्यमाञ्चलकी अनु राई ७.९० अंकसाथ पहिलो भइन् । मध्यमाञ्चलकी रविना गमाल दोश्रो भइन् ।
भलिबल ः मध्यमाञ्चलको दोहोरो जित
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्रा भलिबलमा मध्यमाञ्चलले दोहोरो जित निकालेको छ । पहिलो खेलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–७ र २५–९ ले पराजित ग¥यो भने अर्को खेलमा पश्चिमाञ्चललाई २५–१३ र २५–१० ले हरायो । त्यस्तै पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१० र २५–१६ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१४, १६–२५ र २५–१४ ले निराश पारे ।
छात्रमा भने मध्यमाञ्चलले मिश्रित नतिजा निकाल्यो । सुदूरपश्चिमाञ्चललाई २५–१९ र २५–१२ ले हराएको मध्यमाञ्चल पश्चिमाञ्चलसंग भने १८–२५ र १७–२५ ले चुक्यो । अर्को खेलमा पनि जित हात पार्ने क्रममा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–१३ र २५–१९ ले पन्छायो । पूर्वाञ्चल विरुद्ध जित आत्मासात् गरेको मध्यपश्चिमाञ्चलले ३३–३१ र २५–२२ को प्रदर्शन ग¥यो ।

Comment