जिल्ला स्तरीय सुपर लिग समूह ‘डी’ को पहिलो खेलमा शिवशक्ति बिजयी

Manoj Shiama
5 February, 2017 9:45 am


रुपन्देहीको भैरहवामा जारी मुख्य सुपरलिग अन्तरगत ‘ए’ डिभिजनको समूह ‘डी’ को शनिबार भएको पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई १ सय ९७ रनले हराउँदै विजयी भएको छ । जितसँगै शिवशक्तिले २ अंक पाएको छ ।टस जितेर पहिला ब्याटिङ रोजेको शिवशक्तिले निर्धारित ४० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बुद्धले १७ दशमलब ३ ओभरमा अलआउट हुँदै जम्मा ४७ रन बनायो ।

शिवशक्तिका लागि हरिचन्द लोहनीले ८५, सुमन अधिकारीले ३३, निकेश जुगजालीले ३१, कृष्ण सेनले २१ र दीपचन शर्माले नटआउट २६ रनको योगदान दिए । बलिङमा बुद्धका लागि शुवाङ्कर तिवारी, सुमित जिसी, प्रविण अन्सारीले समान २÷२ विकेट तथा मनिष चौधरी र नजमत अलिले १÷१ विकेट लिए । व्याटिङमा बुद्धका लागि शुवाङ्कर तिवारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङमा शिवशक्तिका लागि कृष्ण कार्कीले ४, सुमन अधिकारीले ३, विष्णु कटरिया, दुर्गेश कुर्मी र अक्तर हुसेनले समान १÷१ विकेट लिए ।

खेलको म्यान अफ द म्याच शिवशक्तिका सुमन अधिकारी घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए । रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग आइतबार समूह एमा रहेका शंकरनगर क्रिकेट क्लब शंकरनगर र देवदह क्रिकेट क्लब देवदहबीच प्रतिस्पर्धा हुनेछ । भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।