यामसाजन र कृष्णालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडको पुरुषमा मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलामा नेपाल आर्मीकी कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले १ सय मिटर दौडमा पनि पहिलो स्थान हात पारेका थिए ।
सुनसरीको इटहरी रंगशालामा निर्धारित दूरी तय गर्न यामले २१.७० सेकेन्ड समय खर्चे । कृष्णाले २६.९० सेकेन्ड समय लगाइन् ।
महिलाको ८ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराई पहिलो भइन् । सरस्वतीले २ मिनेट १९.४२ सेकेन्ड समय लगाइन् । सोही स्पर्धाको पुरुषमा २ मिनेट ०२.४७ सेकेन्ड समयसाथ आर्मीका सोमबहादुर कुमाल शीर्ष स्थानमा रहे ।
महिला ४ सय मिटर हर्डल्समा आर्मीकी दुर्गा देवकोटा पहिलो भइन् । दुर्गाले १ मिनेट १०.०२ सेकेन्ड समय खर्चिन् । महिलाको ट्रिपलजम्पमा प्रहरीकी केशरी चौधरी ११.६७ मिटर जम्प गर्दै पहिलो भइन् । उक्त स्पर्धाको पुरुषमा आर्मीका डिल्ली खत्री १४.०४ मिटर जम्प लगाउदै पहिलो भए ।
डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई पहिलो भए । उनले ३५.४० मिटर टाढा फाले । त्यसै स्पर्धाको महिलामा आर्मीकी अमृता महतो ३४.७३ मिटर साथ पहिलो भइन् ।

Comment