नमुनादीप कप खुल्ला भलीवल मंगलबारबाट

Manoj Shiama
10 December, 2016 9:34 pm


रामेछाप जिल्लाकै सर्बाधिक पुरस्कार राषीको भलिवल प्रतियोगिता नमुनादीप कप मंगलबारबाट सुरु हुने भएको छ । नमुनादीप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु रामेछाप सैपु चार स्थित अरुणोदय मा.बी.को प्राण्गढमा हुने छ ।आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ‘प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रकृया जारी छ । तर खेलका लागि आवश्यक मैदान र अन्य प्राबिधीक तयारी लगभक सकिएको छ’, शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रजिन बस्नेतले भने ।उनकाअनुसार प्रतियोगितामा हाल सम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुङगाका १६ टोलीले सहभागीता सुनिश्चित गरिसकेका छन् । प्रतियोगिता संयोजक बस्नेतकाअनुसार काठमाडौं र अन्य जिल्लाबाट समेट टोली सहभागी हुने छन् ।
चार दिन सम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने छ । प्रतियोगिताको बिजेता टोलीले ट्रफीसहित एक लाख प्राप्त गर्ने छन् । यस्तै उप बिजेता टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार प्राप्त गर्ने छ ।
स्थानीय खेलाडीको प्रोत्साहनका लागि बिभागीय टोलीलाई भने सहभागी नगराईएको आयोजकले जनाएको छ । ‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रुपमा यो प्रतियोगिताको आयोजना गर्दै आईरहेका छौं’, क्लबका सल्लाहाकार समेत रहेका पुर्व अध्यक्ष निर्मल पौडेलले भने, ‘त्यसैले बिभागीय टोलीलाई सहभागी गर्ने निर्णय गरेका छौं । तर बिभागका खेलाडीहरुले अन्य टोलीमार्फत खेल्न सक्नेछन् ।’
प्रतियोगिताको कुल खर्च सात लाख रहेको क्लबका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए । त्यसका लागि सफलता हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रा.ली., गंगाजल मिनेरल वाटर, मञ्जु श्री टे«ड प्राली, संरचना बचत तथा रिण सहकारी संस्था लिमिटेड तथा रत्न कार्पेट लगायले प्रायोजन गरेको अध्यक्ष पौडेलले जानकारी दिए । क्लबले बि.स. २०६५ साल यता नियमित रुपमा आयोजना गर्दै आईरहेको नमुनादीप कपको यो नवौं संस्करण हो ।