राष्ट्रिय स्केटबोर्डिङ शनिबार

skate-boardinge
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिप शनिबार हुने भएको छ ।प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।पुरुषमा ३५ र महिलामा १० खेलाडीको सहभागिता रहने संघका महासचिव चुडामणि खरेलले जानकारी दिए । पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार हात पार्नेछन् । वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई ८ हजार मूल्य बराबरको एक–एक थान स्केट बोर्ड प्रदान गरिने छ ।
शुक्रबार खेलाडीहरुको प्रारम्भिक छनोट गरिने आयोजकले जनाएको छ । प्रारम्भिक छनोटको पुरुषमा १२ र महिलामा ४ खेलाडी छनोट गरी फाइनलमा प्रतिस्पर्धा गराइने छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष खनालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्केट पार्क निर्माण गर्ने योजना रहेको बताए । अध्यक्ष खनालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउन यसै प्रतियोगितालाई आधार मानिने पनि जानकारी गराए ।

Comment