साइक्लिङको टेक्निकल सोलिडारिटी कोर्श शुरु

cyceआइओसी ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका लागि सात दिने टेक्निकल कोर्ष शनिवारबाट शुरु भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरेका थिए । चार बर्षभित्र विभिन्न खेलका स्तर उन्नतीका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कोर्ष सञ्चालन हुदै आएको श्रेष्ठले बताए । ‘हामीले संघको गतिविधि, सम्भावना बोकेको खेललाई हेरेर सोलिडारिटी कोर्शका लागि सिफारिस गर्ने गर्दछौं । जसको आधारमा आइओसीले सोलिडारिटीका लागि सहयोग प्रदान गर्दछ,’ श्रेष्ठले भने,‘सक्रिय र व्यवस्थित भएका संघका आधारमा नेपाल ओलम्पिक कमिटीले सोलिडारिटी कोर्षका लागि सिफारिस गर्दछ ।’
उनले संघको क्रियासिलताको सम्मानमा यो कोर्षका लागि सिफारिस गर्ने गरेको खुलासा गरे । श्रेष्ठले नेपाल माउन्टेन वाइकका लागि निकै उपयुक्त रहेको बताउँदै यसबाट एसियन र ओलम्पिकमा समेत पदक जित्न सकिने बताए । ‘नेपालको भुवनोटभित्र यसको विकास गर्न सकिन्छ । अन्य देशमा कृत्तिम पहाड बनाएर खेलाउनुपर्ने अवस्था छ । त्यसैले यसको सम्भावना बढी रहेको मैले पाएको छु,’ उनले भने ।
नेपाल साइक्लिङ संघका अध्यक्ष छिमि उग्रेन गुरुङले सन् २०१० पछि नेपालले साइक्लिङ प्रशिक्षकका लागि कोर्ष गर्न लागेको बताए । ‘अब हामी प्रशिक्षक, खेलाडी, जिल्लाहरुलाई उनीहरुको स्तरका आधारमा कार्ड वितरण गर्छौ । जसले हाम्रो स्तर माथि उठाउन मद्दत गर्ने छ,’ गुरुङले भने,‘व्यवसायीक साइक्लिङ खेलाडी र एमेच्योर खेलाडीहरुलाइ समेत कार्ड दिने व्यवस्था गर्दै यसप्रति व्यापक सहभागीता गराउने लक्ष्य छ ।’
युसिआइका विज्ञ डेविडले सात दिनसम्म चल्न कोर्षमा विहान थेउरी र साँझ अभ्यास गराइने बताए । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका प्रशिक्षकसहित २२ जनाले प्रशिक्षण लिदै छन् ।

Comment