राखेपद्वारा खेलाडी बेपत्ता प्रकरणमा छानविन समिति गठन

जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ ।खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी संघलगायतले छानविनको माग गरेकोले राखेपका सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
समितिका सदस्यमा राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानून शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई ७ बुँदामा केन्द्रीत रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, आईसीसीको आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिइ किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानविन गर्न भनिएको छ ।

Comment