चन्द्र र बाबुरामलाई स्वर्ण

vavae
चन्द्र धानुक र बाबुराम कार्कीले उपत्यकाव्यापी विशेष एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको आंशिक दृष्टिविहीनतर्फ १ सय मिटर छात्र दौडमा चन्द्र र छात्र सटपुटमा बाबुरामले स्वर्ण जितेका हुन् ।
नेपाल पारा एथलेटिक्सद्वारा आयोजित प्रतियोगिताको पूर्ण दृष्टिविहीनतर्फ १ सय मिटर दौड छात्रमा सागर लामा तथा छात्रा सटपुटमा धन मगरले पहिलो स्थान हात पारे । बहिराको २ सय मिटर दौड छात्रमा चित्रबहादुर लामा र छात्रामा लस्ता महर्जन पहिलो भए । सागर र लस्ताले ४ सय मिटर दौडमा पनि पहिलो स्थान कब्जा गरे ।
बहिरातर्फ नै लङजम्पको छात्रामा लक्ष्मी महर्जन र छात्रमा राजु चौधरी शीर्ष स्थानमा रहे । शारीरिक अपाङ्गतर्फ २ सय मिटर व्ह्ीलचेयर छात्रमा भरत विसी र छात्रामा रजनी राईले स्वर्ण जिते ।
एकदिने प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment