अजय र रिना प्रथम

para athe
सुस्थ मनस्थिती कल्याण विद्यालय चक्रवतीका अजय शाक्य र नेपाल अपाङ्ग महिला समाज गोदावरीकी रिना पहरी उपत्यकाव्यापी बौद्विक अपाङ्ग एथलेटिक्स खेलकुद प्रतियोगिता २०७३ को १०० मिटर दौडमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।
नेपाल पारा ओलम्पिक कमिटिको आयोजनामा भएको प्रतियोगिताको पुरुष तर्फको दौडमा अजयले सत्यम सेवा केन्द्र कपुरधाराका रविन थापालाई पछि पारेका थिए । तेश्रो स्थानमा सत्यम सेवाकै प्रदेश अर्याल रहे । महिला तर्फ रिनाले प्रथम स्थान प्राप्त गर्दा बज्रबाराही बौद्विक अपाङ्ग सेवाकेन्द्र चापागाँउकी सपना श्रेष्ठ द्वितीय र बौद्धिक अपाङ्ग हेरचाह तथा पुनस्थापना केन्द्रकी आश्मा भुषल तृतीय भए ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा भएको प्रतियोगिता अन्तरगत ५० मिटर दौडमा सुस्थ मनस्थिती कल्याण विद्यालयका कुशल महर्जनले विशेष स्कुल तथा पुनस्थापन केन्द्रका समिर आलेमगरलाई पराजित गर्दै पहिलो स्थानमा आए । तेश्रो स्थानमा गाँउ अपाङ्ग पुनस्थापनाका मनिष महर्जन भए । महिला तर्फ भक्तपुर सिबिआरका सविना सुस्यावाग र राजेश्वरी तथा बज्रबाराही बौद्धिक अपाङ्ग सेवा केन्द्र चापागाँउकी रिना माझी क्रमश पहिलो दोश्रो र तेश्रा भए ।
दशरथ रङ्गशालामा भएको प्रतियोगिताको सफ्टबल थ्रो तर्फ पाटन सिविआरका कवुल श्रेष्ठ पहिलो, बौद्धिक अपाङ्गताका आमा समाज ललितपुरका छिरिङ्ग शेर्पा दोश्रो र नेपाल अपाङ्ग महिला समाज गोदावरीका राजु दाहाल तेश्रो भए । महिला तर्फ सुस्थ मनस्थिती कल्याण विद्यालय किर्तिपूरकी लेजिना खरेलले हात पार्दा दोश्रो स्थानमा सोहि स्कुलकी स्मृती तुलाधर रहिन् । तेश्रो स्थानमा नेपाल अपाङ्ग महिला समाज गोदावरीकी चिना श्रेष्ठ रहिन् । विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, नेपाल पारा ओलम्पिक कमिटिका अध्यक्ष दीपक कोईराला, प्रतियोगिता तथा योजना विभागका अधिकृत मिन शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment