जित मोक्तानलाई तीन स्वर्ण

archary13
वाईल्ड कार्ड मार्फत रियो ओलम्पिकमा छनोट भएका मनाङ्ग मस्याङ्गदीका खेलाडी जितबहादुर मोक्तानले तेश्रो लक्ष्मण कुमार स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगितामा तीन स्वर्ण जित्न सफल भएका छन् । मनाङ्गका जितले रिकर्भ ईभेन्ट तर्फ व्यक्तिगत, टिम र मिक्समा गरि तीन स्वर्ण हात पारेका हुन् । प्रतियोगिताको पहिलो दिन मिक्समा स्वर्ण जितेका उनले दोश्रो दिन व्यक्तिगतमा हिमालयन आर्चरीका रमेश भट्टचनलाई पछाडी पार्दै स्वर्ण हात पारे । कास्की आर्चरीका अमृत गुरुङ्गले कास्य पदक पाए । यस्तै जितले रिकर्भ टिम ईभेन्ट्समा ओङज्ञा गुरुङ्ग र कर्मा गुरुङ्ग सम्मिलित टिमबाट स्वर्ण प्राप्त गरे । हिमालयन आर्चरी क्लबका रमेश भट्टचन, वाङ्गेल गुरुङ्ग र प्रकाश गुरुङ्गको टिम दोश्रो स्थानमा रहंदै रजतमा चित्त बुझाउन सफल भए । तेश्रो स्थानमा रहेको कास्की आर्चरी क्लबका अमृत गुरुङ्ग, अशिम शेरचन र होमबहादुर थापाको टिमले कास्य पाए ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगितामा व्यक्तिगत तर्फ रिकर्भ महिलामा सेनाकी आईशा तामाङ्गले कास्कीकी रश्मि दर्लामीलाई पछाडी पार्दै स्वर्ण हात पारिन् । सेनाकी ज्ञानु अवालेले कास्य पाईन् । स्ट्याण्डर्ड तर्फ पुरुषमा मनाङ्गका चित्र हिराचनले स्वयम्भुका कर्मा वाङ्गचुक गुरुङ्गलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । तेश्रो स्थानमा सेना प्रेम बि.क. रहे । महिला तर्फ अन्नपूर्ण आर्चरीका रोजिना थापाले स्वर्ण र केशरी आले मगरले रजत पाए । सेनाकी पुजा थापाले कास्यमा चित्त बुझाईन् ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको कम्पाउन्ड पुरुष तर्फ डिकि आर्चरीका लक्ष्मण पुन र प्रशादा आचार्यले स्वर्ण र रजत पाए । प्रशादा एकल महिला खेलाडी भएका कारण पुरुषको प्रतिस्पर्धामा सहभागी हुंदै रजत पदक प्राप्त गर्न सफल भएकी हुन् । अन्नपूर्णका किशोर कुमार गुरुङ्गले कास्य पाए ।
स्टान्डर्ड पुरुषको टिम ईभेन्ट्समा मनाङ्गका चित्र हिराचन, उर्गि घले र जयबहादुर गुरुङ्गको टिम पहिलो हुंदै स्वर्ण प्राप्त गर्न सफल भयो । दोश्रो स्थानमा वेष्ट आर्चरीका अनिरुध श्रेष्ठ, ग्रिष्मा गुरुङ्ग र पविन्द्र मान सिंह प्रधान र तेश्रो स्थानमा स्वयंभुका शंकर गुरुङ्ग, कर्मा वाङ्गचुक र उर्गेन फुन्सोक दोर्जे गुरुङ्ग रहे । दुई दिने खेलमा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पा, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं लन टेनिसकी अध्यक्ष ज्योती राणा, नेपाल ओलम्पिक कमिटिका सदस्य एवं नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

Comment