देवेश र श्रीतिकालाई तीन स्वर्ण

शिद्धार्थ बनस्थलीका देवेश मानन्धर र लिङकनकी श्रीतिका सिंहले ओलम्पिक डे को अवसरमा आयोजित ओलम्पिक डे स्विम मिट २०१६ को खुला पौडी प्रतियोगिताका तीन÷तीन स्वर्ण पदक हात पार्न सफल भएका छन् ।काठमाण्डौ तथा ललितपुर जिल्ला पौडी संघको आयोजनामा भएको प्रतियोगितामा देवेश र श्रीतिकाले १०० मिटर ब्याकस्ट्रोक, फ्रिस्टायल, र ५० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेका हुन् । देवेशले पुरुष १०० मिटर ब्याक १ मिनट १५.७१ सेकेन्ड, फ्रिस्टायल १ मिनट १.९४ सेकेन्ड र ५० मिटर फ्रिस्टायल २७.६६ सेकेन्डमा पुरा गरे । यस्तै श्रीतिकाले १०० मिटर ब्याक १ मिनट २४.७५ सेकेन्ड, फ्रिस्टायल १ मिनट १३.४१ सेकेन्ड र ५० मिटर फ्रिस्टायल ३३.०४ सेकेन्डमा पुरा गरिन् ।
पुरुष १०० मिटर ब्याकमा डिएभीका अनुभव सुब्बा दोश्रो र सेनाका रुपेश चौधरी तेश्रो भए । फ्रिस्टायलमा डिएभिका अनुभव सुब्बा र सेनाका अभिराजन शाही ठकुरी तेश्रो भए । ५० मिटर फ्रिमा डिएभिका अनुभव र सेनाका अभिराजन ठकुरी तेश्रो भए ।
महिला १०० मिटर ब्याकमा लिङकनकी ओशिना भारती दोश्रो र आयुषा तुलाधर तेश्रो, १०० र ५० मिटर फ्रिस्टायलमा युलेन्सकी टिशा शाक्य दोश्रो र लिङकनकी ओशिना भारती तेश्रो भईन् ।
१०० र ५० मिटर ब्रेष्ट स्ट्रोकमा पुरुष तर्फ सेनाका किरण कार्की र महिला तर्फ सोनिरा बिष्टले स्वर्ण पाए । १०० मिटरमा पुरुष तर्फ सेनाका रुपेश चौधरी र गोल्डेन पिकका आन लामा तथा महिला तर्फ लिङकनकी निहारीका तुलाधर र ओशिना भारती दोश्रो र तेश्रो भए । ५० मिटरमा पुरुष तर्फ मनिष चित्रकार र सेनाका रुपेश चौधरी तथा महिला तर्फ लिङकनका निहारिका र आयुषा तुलाधरले रजत र कास्य पाए ।
५० मिटर ब्याक स्ट्रोकमा डिएभीका अनुभव सुब्बाले ३५.२५ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पाए । दोश्रो स्थानमा शिद्धार्थका देवेश मानन्धर र सेनाका दिलिप थापामगर तेश्रो भए ।

Comment