विपनाको अर्को कीर्तिमान

ratra ath1आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बिहीबार कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् । बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल प्रमिला चौधरी दोश्रो र पश्चिमाञ्चलकी शशी चौधरी तेश्रो भए । दोश्रो भएकी प्रमिलाले कृष्णाकै कीर्तिमानलाई उछिन्ने क्रममा ४.९२ मिटरको प्रदर्शन गरिन् । उक्त स्पर्धाको छात्रमा मध्यमाञ्चलका भुवन महतो पहिलो भए । उनले ६.१३ मिटर जम्प लगाए ।
छात्र १ सय मिटर दौडमा पश्चिमाञ्चलका विकासकुमार शाहले ११.२८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भए । सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी लुजला अमात्य पहिलो भइन् । लुजलाको टाइमिङ १३.०८ सेकेन्ड रह्यो । छात्रा ४ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी रुपा थारु पहिलो भइन् । रुपाले निर्धारित दूरी तय गर्न १ मिनेट ०५.५६ सेकेन्ड समय लगाइन् । ५२.४ सेकेन्ड समय खर्चेका मध्यमाञ्चलका चन्देश्वर पटेल छात्र ४ सय मिटर दौडमा पहिलो बने ।
छात्रा ३ हजार मिटर दौडमा पूर्वाञ्चलकी दीपा बस्नेत पहिलो भइन् । दीपाले ११ मिनेट ४२ सेकेन्ड समय लगाइन् । त्यसै स्पर्धाको छात्रमा ९ मिनेट ४२.६ सेकेन्ड समयसाथ मध्यमाञ्चलका अजितकुमार यादव शीर्ष स्थानमा रहे । छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमाञ्चलकी धनशोभा रावत पहिलो भइन् । धनशोभाले २४.४० मिटर टाढा फ्याकिन् । त्यो स्पर्धाको छात्रमा ४६ मिटर थ्रो गर्दै मध्यमाञ्चलका वीरेन्द्र चौधरीले शीर्ष स्थान कब्जा गरे ।
छात्रा ४ गुणा १०० मिटर रिलेमा पश्चिमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र मध्यमाञ्चल तेश्रो भए । सो स्पर्धाको छात्रमा मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलले क्रमशः शीर्ष तीन स्थान ओगटे ।

Comment