ज्ञान र सानुकालाई स्वर्ण

athletics1
नेपाली सेनाका ज्ञानप्रसाद भट्टराई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सानुका थापाले चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् । सिनियरको पुरुषमा ज्ञान र महिलामा सानुका पहिलो भएका हुन् । गागलफेदीमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका जितेन्द्र राई दोश्रो र सेनाका खगेन्द्र भाट तेश्रो भए । महिलामा सेनाका लक्ष्मी पाण्डे दोश्रो र संगीता खड्का तेश्रो भए ।
नेपाल एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगिताको विद्यालयतर्फ ब्वाइजमा सागर कुइकेल पहिलो, युवराज ढकाल दोश्रो र राजु खड्का तेश्रो भए । सो स्पर्धाको गल्र्समा संगीता बाडे, मुना श्रेष्ठ र ममता तामाङ क्रमशः शीर्ष तीन स्थानमा रहे । सिनियर पुरुषमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । बाँकी स्पर्धा ६ किलोमिटर दूरीको थियो ।
सिनियर पुरुष÷महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै छात्र÷छात्रामा पहिलो हुनेले ९ हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार नगद पुरस्कार हात पारे । प्रतियोगिताअन्तर्गत पुरुषमा सेना २ सय १९ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो । १ सय ४७ अंकसाथ एपीएफ दोश्रो र ९७ अंकसाथ नेपाल प्रहरी क्लब तेश्रो भए । महिलामा ८३ अंक जोड्दै एपीएफ टिम च्याम्पियन भयो । सेना दोश्रो र प्रहरी तेश्रो बने ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह लगायतले पुरस्कृत गरे ।

Comment