फिनल्यान्डमा नेपाली कराते प्रशिक्षक दिलबहादुर घलान तामाङद्वारा विशेष प्रशिक्षण तथा अनुभव आदानप्रदान

नेपाली कराते प्रशिक्षक तथा नेपाल कराते महासङ्घका राष्ट्रिय रेफ्री, ३औँ डान दिलबहादुर घलान तामाङले फिनल्यान्डमा नेपाली कराँतेको पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरमा अनुभव आदानप्रदान गरेका छन् । उनले सन् २०२६ मे ७ मा फिनल्यान्डको लाप्पेनरान्तामा वरिष्ठ कराते प्रशिक्षक लास्से जास्केलाइनेन (८औँ डान) र तोमी पुरहोनेन (५औँ डान) सँग विशेष प्रशिक्षण तथा अनुभव आदानप्रदान गरे ।
तामाङ ललितपुर जिल्ला, कोन्ज्योसोम गाउँपालिका–५, भारदेउकास्थित नेपाल शितो–र्यु कराते शाखा डोजोका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हुन् । वि.सं. २०६२ मा गुरु टी.एस. राईबाट उद्घाटन गरिएको सो डोजो मार्फत उनले लामो समयदेखि कराते खेलको प्रशिक्षण, खेलाडी उत्पादन र विकासमा योगदान दिँदै आएका छन् । उनको प्रशिक्षणबाट भारदेउकाका खेलाडीहरूले जिल्ला तहदेखि राष्ट्रिय तहसम्मको यात्रा तय गरेका छन्।
उनले ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित गङ्गा जमुना इङ्लिस बोर्डिङ स्कुलमा प्रमुख प्रशिक्षकका रूपमा ६५ भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
साथै, लेले डोजोमा पनि करिब ७५ भन्दा बढी विद्यार्थीलाई कराते प्रशिक्षण प्रदान गरेका छन् ।
कराते खेलको विकास, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने तथा स्थानीय स्तरमा खेलप्रति आकर्षण बढाउने उद्देश्यले तामाङले विभिन्न कराते प्रतियोगिताहरू आयोजना गरेका छन् । उनले प्रथम उपत्यका व्यापी कराते प्रतियोगिता, २०७४; दोस्रो कोन्ज्योसोम गाउँपालिका स्तरीय कराते प्रतियोगिता, २०७५; तथा बागमती प्रदेशस्तरीय कराते प्रतियोगिता, २०७९ आयोजना गरेका थिए । यी प्रतियोगिताहरूले खेलाडीको प्रतिभा उजागर गर्न र कराते खेलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । यस यात्रामा उहाँले आदरणीय गुरु राजेन्द्रकुमार ओझाबाट महत्त्वपूर्ण सहयोग तथा मार्गदर्शनसमेत प्राप्त गरेका थिए । कराते खेलमा गरेको योगदानको कदर स्वरूप तामाङले ललितपुर जिल्ला खेलकुद विकास समितिबाट कद्दर पत्रसमेत प्राप्त गरेका छन् । राष्ट्रिय रेफ्री, प्रशिक्षक तथा प्रतियोगिता आयोजकका रूपमा उनले खेलको प्राविधिक पक्ष, प्रशिक्षण र सङ्गठनात्मक विकासमा योगदान दिँदै आएका छन् ।
फिनल्यान्डमा भएको विशेष प्रशिक्षण तथा अनुभव आदानप्रदानले नेपाली र फिनिस कराते प्रशिक्षकबिचको सम्बन्ध थप बलियो बनाउनुका साथै प्रशिक्षण विधि, सीप र अनुभव आदानप्रदानमा सहयोग पुग्ने विश्वास गरिएको छ । विदेशमा रहेर पनि नेपाली कराँतेको विकास, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सक्रिय रहनु तामाङको खेलप्रतिको समर्पणको उदाहरण हो ।