हैदरावादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता

Manoj Shiama
26 August, 2026 4:44 pm

भारतको हैदराबादमा सम्पन्न प्रथम विश्व खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालका  खेलाडी तथा राष्ट्रिय निर्णायकले स्वर्ण पदकमा ह्याट्रिक जितेका छन् ।

अगस्ट २१ देखि २३ सम्म गाचीबोवलीस्थित जीएमसी बालायोगी इनडोर स्टेडियममा भएको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका–१५, डायनामिक तेक्वान्दो डोजाङका जानकी तामाङले विश्व तेकेवान्दोको पुम्से विधामा एकल ,जोडी र ग्रुप गरी तीन स्वर्ण पदक हासिल गरेको डोजाङले जनाएको छ ।

नुवाकोट पञ्चकन्या निवासी जानकीले पाएको यो सफलतालाई खेल क्षेत्रले प्राथमिकताका साथ हेरेको छ । अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगिता अमिकल स्पोट्र्स एकेडेमीको आयोजनामा भएको थियो। प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से तथा फ्रिस्टाइललगायत विभिन्न विधामा प्रतिस्पर्धा भएको आयोजकले उल्लेख गरेको छ ।

प्रतियोगिताले विभिन्न २४ देशका खेलाडीलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाको अवसर दिएको आयोजकले जनाएको छ ।

चन्द्रागिरिका खेलाडी जानकी तामाङको स्वर्ण सफलताले स्थानीय स्तरमा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा भइरहेको प्रयासलाई समेत उत्साह थपेको छ ।

उनीहरूको उपलब्धिलाई प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको परिणामका रूपमा लिएका छन् ।