नेपालको भावनात्मक एकतामा प्रधानको चेस अभियान
Manoj Shiama
4 July, 2026 6:17 pm

थापाथली चेस पार्कको आयोजनामा जारी युनाइट नेपाल थ्रु चेसको पाँच चरणको समाप्तिमा कञ्चनपुरका हार्दिक पन्त ,ताप्लेजुङका निग्मा शेर्पा, ललितपुरका सानु राज बज्राचार्य र ओखलढुङ्गाका सन्देश बरुवालले संयुक्त अग्रता कायम गरेका छन् । स्विस लिग प्रणालीमा जारी ९ चरणको प्रतियोगितामा यी चार खेलाडीले पहिलो दिन सत प्रतिशत जित हात पारे ।
दोस्रो दिन आइतबार बाँकी रहेका चार चरणका खेल हुने छन् । नेपालका ७७ जिल्लाका खेलाडीलाई सहभागी गराउँदै राष्ट्रिय एकताको भावनाको विकास गर्ने सोचका साथ मोहन सिंह प्रधानको सहयोगमा २०८१ साल देखि वार्षिक रूपमा यस प्रतियोगिता हुँदै आएको हो ।
प्रतियोगितामा ७६ जिल्लाका २४० खेलाडीको सहभागिता छ । प्रधानले आफ्ना ससुरा सहदेव कर्माचार्य र सासु जानकी कर्माचार्यको स्मृतिमा सो प्रतियोगिता आयोजना गरेको बताए ।

