तेक्वान्दो सहायक मुख्य प्रशिक्षक लामा प्रथम श्रेणीमा बढुवा

Manoj Shiama
10 January, 2026 6:22 am

राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणीको अन्तर्राष्ट्रिय पुम्से रेफ्री बनेका छन् । सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा बढुवा भएका लामा २०२५ को डिसेम्बर ३१ तारिखमा प्रथम श्रेणीमा बढुवा भएका हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा हुन विश्व तेक्वान्दो महासङ्घको नियम अनुसार जी– १ तथा जी– २ अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागी भई ८ अङ्क प्राप्त गर्नु पर्नेछ ।

उक्त ८ अङ्क प्राप्त गर्न लामाले अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, मलेसिया, हङकङ, भारत र इन्डोनेसियामा भएको जी–२ प्रतियोगिता एवं रिफ्रेसर कोर्समा सहभागी भएको नेपाल तेक्वान्दो सङ्घका सदस्य कविराज नेगी लामाले जनाएका छन् । लामाले २०२२ मा कोरियामा सम्पन्न विश्व पुम्से तेक्वान्दो प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गरेको थिए ।

काभ्रेका लामाले २०४५ सालदेखि तेक्वान्दो सुरु गरी विश्व तेक्वान्दो हेडक्वाटरबाट ७औँ डान ब्ल्यक्बेल्ट प्राप्त गरेका छन् ।

लामाले इन्डोनेसियामा भएको १८ औँ एसियाली खेलकुद तथा सन् २०१० मा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा सहभागी नेपाली राष्ट्रिय तेक्वान्दो पुम्से टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका   थिए । १३ औँ सागमा तेक्वान्दोले जितेको कुल १२ स्वर्ण मध्ये ७ स्वर्ण पदक पुम्से विद्याबाट प्राप्त भएको थियो ।

नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष दीपराज गुरुङले लामालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा प्रमाण पत्र प्रदान गर्दै बधाई दिए ।

सो अवसरमा राखेपका सदस्य कुमार लामा घिसिङ, सङ्घका महासचिव हेमन्त डाँगी, सदस्य टिकाप्रसाद लिम्बुलगायतको उपस्थित रहेको थिए ।