जनकपुजनकपुरलाई हराउँदै लुम्बिनी प्ले अफमा

Manoj Shiama
6 December, 2025 5:37 am

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रवार लिग चरणको २५औँ खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्स प्ले अफमा प्रवेश गर्ने चौथो टोली बनेको छ । जनकपुरको यो हारले एकै पटक जनकपुरसहित तीन टोली बाहिरिएका छन् ।

एकै पटक प्लेअफको दौडबाट बाहिरिएमा जनकपुर जनकपुर बोल्ट्ससहित पोखरा एभेन्जर्स र चितवन राइनोज रहेका छन् । कर्णाली याक्स भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको हो ।

यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरका ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । जनकपुरले दिएको १३३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १३६ रनसहित लक्ष्य पूरा गरेको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । 

डार्सी सर्टले ३० रन जोडे । नरोसन डिकवेल्लाले १७ रन बनाए । सन्दीप जोरा गोल्डेन डक आउट भए । जे जे स्मिथले २१ रन बनाए । दिलीप नाथ १५ र रुबिन ट्रम्पलमेन ६ रनमा अविजित रहे ।

जनकपुर बोल्ट्सका लागि संगीथ कोरेले ३ विकेट लिए र मयन यादवले २ विकेट लिँदा सञ्जय कृष्णमुर्थीले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनले मयन यादवसँग सातौँ विकेटको लागि ४९ रनको अविजित साझेदारी गरे ।

लिग चरणका अझै तीन खेल भने बाँकी नै छ । शनिवार पहिलो खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुने छ भने दोस्रो खेल पोखरा एभेन्जर्स र चितवन राइनोजबीच हुने छ । त्यसै गरी आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ ।