काठमाडौ प्ले अफमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाडौं गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । पोखराको यो हारसँगै प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १५२ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे । उनले पाँचौँ विकेटका लागि धनन्जय लक्समसँग ७६ रनको साझेदारी गरे ।
पोखराका लागि ओपनर तथा कप्तान कुशल भुर्तेलले २२ रन बनाए । अर्का ओपनर एडम रोसिङ्टन ५ रनमा सन्नी पटेलको बलमा बोल्ड भए । जेसन रोय १६ धनन्जय लक्षण ३० रनमा पेभेलियन फर्किए । त्यसपछि भने कुनैपनि ब्याटरले ऋषिसँग साझेदारी बनाउन सकेनन् । मध्यक्रमको ब्याटरले रनमा योगदान गर्न नसक्दा पोखराले हार बेहोरेको हो ।
काठमाडौं गोर्खाजको लागि बलिङतर्फ साहब आलमले ह्याट्रिक सहित सर्वाधिक ६ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमाडौं गोर्खाजको जित सुनिश्चित गरे । एनपीएलको इतिहासमा ह्याट्रिक लिने उनी पहिलो बलर हुन् । करण केसी र सन्नी पटेलले २–२ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको काठमाडौं गोर्खाजको लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । काठमाडौंका पहिलो विकेट आकाश त्रिपाठी डकआउट भए । दोस्रो विकेटको रुपमा वान डाउन आएका रासिद खानको विकेट गयो ।
तेस्रो विकेट मिलिन्द कुमार १३ रनमा स्टम्पिङ भए । जोन सिम्पसन २ रनमा पोखराका कप्तान कुशल भुर्तेलको हातबाट कट एण्ड बोल्ड भए । आदिल अलामले ७ रन बनाए । भिम सार्कीले ५५ रन बनाए । सन्नी पटेल २ रनमा अविजित रहे ।
पोखरा एभेन्जर्सका लागि धनन्जय लक्षणले सर्वाधिक ४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले १ विकेट लिए । काठमाडौंले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । काठमाडौं गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किङ्ससँग ५ विकेटले हार बेहोरेको थियो । चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचौँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौँ खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो ।
पोखरको यो छैटौँ खेल हो । पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ । पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो ।
चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो । पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो । आजै दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ । पोखराले लिग चरणको आफ्नो अन्तिम तथा सातौँ खेल शनिबार चितवन राइनोजसँग खेल्ने छ