कर्णाली याक्स बाहिरियो

Manoj Shiama
3 December, 2025 6:50 am


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मगलवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ । टस हारेर पहिला ब्याटिङ गर्दै पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १९औँ ओभरमा १६७ रन बनाएर अलआउट भएको हो । हार बेहोरेसँगै कर्णाली प्लेअफ सम्भावनाबाट बाहिरिएको छ । प्लेअफ चरणबाटै बाहिरिने कर्णाली पहिलो टिमसमेत बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको थियो ।
कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक ५९ रन बनाए । उनले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । प्रियांक पञ्चालले १६, पवन सर्राफले १९, नाजिबुल्लाह जद्रानले २४, सोमपाल कामीले १३ रन, दिपेन्द्र रावतले १० रन बनाए ।
पोखरा एभेन्जर्सका लागि बलिङतर्फ क्रषि धवन र धनन्जय लक्सनले समान ३–३ विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराका लागि एडम रोसिङ्टनले १०८ रनको अविजित पारी खेले । उनले ५८ बलमा ११ चौका र ७ छक्का पहार गरेका थिए ।
पहिलो विकेटको रुपमा कुशल भुर्तेल १८ रन बनाउँदै क्याच भएका थिए । दोस्रो विकेटका लागि जसन रोय र एडम रोसिङ्टनले १२७ रनको साझेदारी गर्दै पोखराको स्कोर उकासेका थिए । दोस्रो विकेटको रुपमा जसन रोय ४६ रनमा क्याच भए ।
धनन्जय लक्सन २३ रनमा अविजित रहे । तेस्रो विकेटका लागि लक्सन र एडमले ४० रनको अविजित साझेदारी गरे । कर्णाली याक्सका लागि नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए ।

पोखराले ४ खेलमा ३ हार र १ जित दर्ता गरेको छ । पोखराले पहिलो खेलमा विाटनगर किङ्ससँग ५३ रनले हार बेहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले हार बेहोरेको थियो । तेस्रो खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो । आजको जितसँगै पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ ।