अर्को कोशेढुगाको पर्खाइमा कोपिला

Manoj Shiama
22 November, 2025 6:00 am

नेपालमा भलिबल खेलको अवस्था पछिल्लो समय फेरिएको छ । आम मानिसमा यो खेलको लोकप्रियता बढेको छ । महिला सुदृढीकरणको आँखाले  हेर्ने हो भने यस खेलमा आबद्ध खेलाडीहरू सेलिब्रेटीको  रूपमा समाजमा स्थापित हुने क्रम बढेको छ । सुरुमा महिलाको एकाध प्रतियोगिता हुने यो खेल अहिले फ्रेन्चाइजको तहमा पुगेको छ । 

लामो समय खेलाडीको रूपमा नेपालको राष्ट्रिय टोलीको क्वीकरको रूपमा छाप बनाएकी कोपिला उप्रेतीको हकमा यो भिन्न खाले अनुभव हो । लेभल थ्री भलिबल कोर्स गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी उनले राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकसम्मको जिम्मेवारी पुरा गरी सकेकी छिन् ।

खेलाडीको रूपमा इन्डोर भलिबल र बिच भलिबल दुवै विधामा उत्तिकै सफलता पाउने एकाध खेलाडीको रूपमा रहेकी उनको यस सफलताको पछाडि थुप्रै सङ्घर्षका कथा छन् । 

करिब २ दशक भन्दा अघि आम नेपाली महिलाका लागि खेलकुदमा आफूलाई सक्रिय राख्न अहिलेको जस्तो सहज पक्कै थिएन । धेरै कठिनाइ बेहोरेर यस खेलमा सक्रिय रहेकी उनले दुई वर्ष अघि नेदरल्यान्ड्स भलिबल सङ्घको सहयोगमा त्यहीँ गएर लेभल थ्री कोर्स पुरा गरेकी हुन् । यस भन्दा अघि उनले नेपालमा लेभल टुको कोर्स पुरा गर्दा उत्कृष्ट भएकी थिइन् । 

त्यसो त भर्खरै काठमाडौँमा सम्पन्न फ्रेन्चाइज एभरेस्ट भलिबल लिगमा उनको टोली मधेस युनाइटेडले आशातीत प्रदर्शन गर्न सकेन । खेल सुरु भए पछि नेपालमा भएको राजनीतिक कारण लिगको निरन्तरताको बारे प्रश्न उठेको थियो ।

  धेरै टोली विदेशबाट आएका आफ्ना खेलाडी फिर्ता गर्न बाध्य भए । यसै कारण सुरुमा तयार पारिएको टोलीको संरचना नै भत्किएको थियो । यसका बाबजुद जसरी भए पनि लिग सम्पन्न गर्न आयोजकलाई सहयोग गर्न फ्रेन्चाइजहरु तयार भए । यसमा मधेस युनाइटेड पनि थियो । 

कोपिलाकै विचारमा  नेपालमा भलिबल मार्फत महिला सुदृढीकरणको मुद्दालाई बलियो बनाउन एभरेस्ट भलिबल लिग तथा यसमा आबद्ध स्नेभी चापाँगाइ लगायतको भूमिका सहनीय छ । 

नेपाल भौगोलिक, सामाजिक र सांस्कृतिक रूपले विविधता बोकेको देश हो । यहाँ समस्याहरूको चाङ नै छ । हाम्रै समाजमा बहुसङ्ख्यकको बाध्यता अहिले पनि भोक र रोगसँगको मुकाबिला नै हो । यसै कारण खेलकुद र मानवीय संवेदनासँग सरोकार राख्ने विषयमा उनको उत्तिकै चासो छ । साथमा नेपालमा व्यवसायीक प्रशिक्षण केन्द्रको उनको योजनाले पक्कै सार्थकता पाउने नै छ । सबै खेलकर्मीले उनको यो चाहनामा पक्कै सद्भाव राख्ने छन् ।