नासाका प्रतिनिधिले बुझाए सुझाव पत्र

Manoj Shiama
7 November, 2025 6:25 am

नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)का प्रतिनिधिहरूले मन्त्रालयमा भेट गरी बधाई सहितको सुझाव पत्र पेस गरेका छन् ।

सङ्घका मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस कमिसनका सचिव तथा स्पोर्टस एन्ड इभेन्ट अफिसर अङ्कित भण्डारी सहितको टिमले सङ्घको तर्फबाट बधाई दिँदै नेपालमा मोटरस्पोट्र्स र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका थिए ।

सो अवसरमा सङ्घका प्रतिनिधिहरूले युवा तथा खेलकुद मन्त्रालयले साँच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकोमा खुसी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठुलो अपेक्षा गरेको बताए ।

उनीहरूले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाईल्स एसोसिएसनको सधैँ साथ सहयोग र समर्थन प्रतिबद्धता व्यक्त गरे । 

सङ्घको तर्फबाट सुझाव पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताउँदै, “मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो,” भन्दै सङ्घ, खेलाडी र अफिसियलहरूको सुझावहरूलाई आत्मसाथ गर्ने बताए ।

सङ्घको तर्फबाट साँच्चै युवा खेलाडी तथा अफिसियल मार्फत प्राप्त सुझावले युवा वर्गमा हौसला पुग्ने बताए ।