चेस महासङ्घको विरुद्धमा उत्रिए खेलाडीहरू

नेपालका चेस खेलाडीले अनियमितता, अपारदर्शी र गैर जिम्मेवारी पूर्वक काम गरेको भन्दै नेपाल बुद्धिचाल महासङ्घको वर्तमान कार्यसमिति विघटनको माग राखेका छन् ।
खेलाडीहरूले आइतबार थापाथली पार्क चेस क्लबमा पत्रकार सम्मेलनमा गर्दै आर्थिक अपारदर्शी, अनियमितता र अन्तर्राष्ट्रिय सहभागितामा मनपरी ढङ्गले देशको प्रतिनिधित्व गराएको भन्दै महासङ्घको वर्तमान कार्यसमिति विघटन समेतको माग गर । नेपाल च्याम्पियन रूपेश जैसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम चौलागाई र आशिष फुयाँलले बुद्धिचाल महासङ्घको वर्तमान कार्यसमितिले शृङ्खलाबद्ध रूपमा खेलाडीमाथि अन्याय गर्दै आएको आरोप लगाएका हुन् । सुश्रुत दाहालले चेस ओलम्पियाडमा नेपाली खेलाडीको सहभागिता किन हुन सकेन भनेर एक वर्षअघि नै छानबिन गर्ने भनेता पनि अहिलेसम्म त्यसबारे रिपोर्ट नआएको बताए ।
फिडेबाट १० हजार डलर आउने भए पनि त्यो रकम कहाँ जान्छ भन्ने अहिलेसम्म जानकारी नआएको उनको आरोप छ । सुश्रुतले अपारदर्शी रूपमा महासङ्घ अगाडि बढेको र देशबाट खेल्ने खेलाडीको सहभागितामा पनि राजनीति गर्दै योग्य खेलाडीलाई रोकिएको बताएका छन् । कार्यसमितिकै कतिपय सदस्यलाई महासङ्घको गतिविधि थाहा नहुने र चार जनाको सचिवालयले नै नेपाली चेसमा मनपरी गर्दै आएको उनले खुलासा गरेका छन् ।त्यसैले यस्ता व्यक्तिहरू सङ्घ चलाउन योग्य नभएको भन्दै कार्यसमिति विघटनको माग गरिएको उनी बताउँछन् ।
प्रथम बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस (रुस) र फिडे वर्ल्ड क्याडेट चेस च्याम्पियनसिप (कजाखस्तान) मा नेपालबाट छनोट बिना र मनपरी ढङ्गले खेलाडी सहभागी गराएपछि उनीहरूले आफ्नो धैर्यको सीमा नाघेको बताएका छन् ।
सो च्याम्पियनसिपमा नेपालका पुरुषोत्तम सिलवाल, एमेच्योर खेलाडी शैलेन्द्र न्यौपाने र महिलामा सिन्दिरा जोशीले प्रतिस्पर्धा गरे । तर, महासङ्घले नेपाल च्याम्पियन र अन्य योग्य खेलाडीलाई बाहिर राखेको र मापदण्डबिना नै देशको प्रतिनिधित्व गराएको भन्दै थापाथली पार्क चेस क्लब, अखिल नेपाल बुद्धिचाल महासङ्घ, अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु र अन्य खेलाडीले पनि आलोचना गरिरहेका छन् ।
राष्ट्रिय च्याम्पियन रूपैशले सबैभन्दा पहिले महासङ्घको गतिविधिमा असन्तुष्टि जनाएका थिए । रसियामा हुने च्याम्पियनसिपमा आफ्नो सहभागिता हुनुपर्ने भए पनि महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले षड्यन्त्रपूर्वक आफूलाई वञ्चित गरिएको रूपेशले बताए । देशको सहभागिता गराउँदै कुनै पनि मापदण्डबिना देशको सहभागिता गराएको उल्लेख गर्दै नेपाल च्याम्पियन हुँदा पनि आफूले खेल्ने नपाएको भन्दै उनले दुखेसो गरे । पटक पटक आफूलाई महासङ्घले आफूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट रोकेको उनको आरोप छ ।
यसअघि शनिवार नै थापाथली पार्क चेस क्लबले विज्ञप्ति जारी गर्दै महासङ्घको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट प्रक्रिया नहुनु, अपारदर्शी हुनु र अन्तिम समयमा नेतृत्वले आफू अनुकूल व्याख्या गरेर सहभागी गराउने प्रवृत्तिले धेरै खेलाडी र चेसकर्मीमाथि अन्याय भएको जनाएको थियो । २ हजार मुनिको एमेच्योर कोटामा राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइँ र शीर्ष पाँचका आशिष फुयाँललाई बेवास्ता गरिएकोमा क्लबले ध्यानाकर्षण भएको जनाएको थियो । अखिल नेपाल बुद्धिचाल संघले पनि बुद्धिस्ट अन्तर्राष्ट्रिय र विश्व क्याडेट चेस च्याम्पियनसिपमा नेपालको सहभागिताबारे चासो व्यक्त गरेको थियो ।
महासङ्घले खेलाडीको सहभागिताबारे बेथिति रहेको र यसपल्ट प्रतियोगितामा के आधारले खेलाडी छनोट गरिएको भन्ने स्पष्ट भनेको छ । अर्का खेलाडी पुरुषोत्तम चौलागाइँले हरेक प्रतियोगिताबाट ५ प्रतिशत रकम महासङ्घले माग्ने गरेको उल्लेख गर्दै त्यो रकम कहाँ खर्च गरिन्छ भन्ने जानकारी नआएको बताए । खेलाडीभन्दा अफिसियलको सङ्ख्या धेरै भएपछि ओलम्पियाडका लागि हंगेरीको भिसा नपाएको पुरुषोत्तम बताउँछन् । उनले चेस महासङ्घको अनियमितताबारे छानबिन गर्न र वर्तमान कार्यसमिति विघटन गर्न नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद (राखेप) लाई आग्रह गरे ।
पुरुषोत्तमले महासङ्घका गतिविधिबारे राखेपलाई पनि ज्ञापन पत्र दिने बताएका छन् । खेलाडीहरूले महासङ्घको क्यालेन्डर नहुनु, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबारे कार्यविधि नबनाउनु र आफू अनुकूल व्याख्या गरेर सहभागिता गराउने प्रवृत्तिले समग्र खेललाई नै असर परेको ठहर गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घको अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम लामा हुन् । अध्यक्ष हाल रुसमा र महासचिव कजाखस्तानमा छन् । अध्यक्ष आफैँ रुसमा उक्त प्रतियोगिता खेलिरहेका छन् । यी दुईसँगै महासङ्घका केही व्यक्तिले चेस खेलाडीमाथि अन्याय गर्दै गलत प्रवृत्तिका काम गर्दै आएको खेलाडीको आरोप छ ।