लुम्बिनी लाभाजको नाममा अर्को एक सफलताको पर्खाइमा सुशीला

सुशीला थापाले नेपाली भलिबलमा आफूलाई व्यस्त राखेको २ दशक पार भई सकेको छ । एक दशक भन्दा लामो समय पुलिस क्लबमा पहिलो रोजाइको सेटरको रूपमा जिम्मेवारी पुरा गरेकी उनले करिब आधा दशक राष्ट्रिय टोलीमा पनि स्थान बनाइसकेकी थिइन् ।
सन् २०१९ एफआइभिबी लेभल वान कोर्स पुरा गरेकी उनले प्रशिक्षकको काम नै सुरु गरेको ३ वर्ष पनि पुरा भएको छैन । तथापि यस बिचमा उनले थुप्रै सफलता पाएकी छिन् ।
मालदिभ्समा भएको काभा क्लब च्याम्पियनसिपमा पुलिस क्लबले उपाधि जित्दा सुशीला टोलीको सहायक प्रशिक्षक थिइन् । यस बिचमा उनले सहायक प्रशिक्षकको रूपमा आधा दर्जन घरेलु उपाधि जितेकी छिन् ।
पोखरामा भदौ २० देखि २८ सम्म एभरेस्ट महिला लिग आयोजना हुँदै छ । सोही लिगमा सुशीला लुम्बिनी लाभाजको सहायक प्रशिक्षक छिन् ।
उनले मुख्य प्रशिक्षक भरत यादवसँग मिलेर टोलीको जिम्मेवारी सम्हाल्ने छिन् । उनको टोलीमा कप्तान अरुणा शाही कप्तान छिन् । कामना विष्ट, शान्तिकला तामाङ, एलिसा मानन्धर, रिक्जना भोटे, रमा महतो र अनुषा चौधरी लगायत छन् । टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा उनी विश्वस्त छिन् ।
६० को दशकको सुरुवातको समयमा नेपाली महिलाका लागि भलिबल खेल सहज थिएन । टिम गेम भएका कारण अझ असहज थियो । यस समयमा नेपाल पुलिस टिमले महिला भलिबल टोली बनाउने निर्णय गरे पछि सुशीलाले सोही विभागको ट्यागमा १८ वर्ष आफूलाई यस खेलमा सक्रिय राखेकी छिन् । यस कारण उनी आफ्नो यो यात्रामा सधैँ यसको जस र श्रेय नेपाल पुलिस क्लबलाई नै दिन चाहन्छिन् । पुलिस क्लबमा भलिबल टोली बनाउने र प्रवेश गराउने कपिल किशोर श्रेष्ठले १८ वर्ष अघि निभाएको भूमिका तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई उनी अझै सम्झन चाहन्छिन् ।

नेपालमा अहिले चुलिएको भलिबलको क्रेज र फ्रेन्चाइजको रूपमा पाएको अवसर उनका लागि महत्त्वपूर्ण हो । यस यात्रा र यो अवसरका लागि उनी अहिले लुम्बिनी लाभाज प्रति आभारी त छन् नै । साथै उनका लागि टोली चुनौती पनि हो । प्रशिक्षक भरत, कप्तान अरुणा र टोलीका सबै खेलाडीको मेहनतले यस सफलता पाउने कुरामा उनी विश्वस्त छिन् । यो यात्रामा साथ दिने सबै प्रति आधार उनी अहिले भने लुम्बिनी लाभाजकै सफलतामा आफूलाई पूर्ण रूपमा केन्द्रित गरेकी छिन् ।