जुनियर क्रिकेट लिग सुरु

काठमाडौँ । एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलबारदेखि मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ ।
प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सोही अवसरमा सिरोहिया र काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरेका थिए । सहभागी १६ टिमका कप्तान र आयोजकका पदाधिकारीलाई काठमाडौं गोर्खाजको मायाको चिनो पनि प्रदान गरिएको थियो ।
टी- १० स्वरुपमा भइरहेको प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागी हुन पाउने प्रावधान रहेको आयोजक स्कुलका खेलकुद विभाग प्रमुख सुमन तिमिल्सिनाले जनाएका छन् ।
एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीको व्यवस्थापनमा भइरहेको लिग कम नकआउट प्रतियोगिताको फाइनल भदौ ६ गते हुनेछ । उद्घाटनका अवसरमा आयोजक एन्जल्सका अध्यक्ष लीलबहादुर पुन र प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिमबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।