हिमालयन क्वीन्स ग्याम्बिटमा ७ वर्षदेखि ६७ वर्षसम्मका खेलाडीको प्रतिस्पर्धा, प्रिसियस च्याम्पियन

हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अङ्क जोड्दै उपाधि जितेकी हुन् ।
सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एक दिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि होडबाट टाढा बनायो । उनी ६.५ अङ्कमा सीमित भएपछि उपविजेता मै रोकिइन् । सात वर्षदेखि ६७ वर्षसम्मका महिला खेलाडी सहभागी प्रतियोगितामा महेन्द्र माविकी रेशिका श्रेष्ठ ६ अङ्कसहित तेस्रोमा रहिन् । स्वस्तिका चौधरी, धनमन्तरी थापा, मेघना अधिकारी, संस्कृति गजुरेल र सुहानी सिंह शीर्ष आठमा रहे ।
अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि आठ प्रतियोगिता हुँदै छ, जसअन्तर्गत एसियाको एक्लो प्रतियोगिताको रूपमा ‘हिमालयन क्वीन्स ग्याम्बिट’ आयोजना गरिएको हो । स्विस प्रणालीको आधारमा चार राउन्ड र्यापिड र तीन राउन्ड ब्लिट्ज खेलाइएको प्रतियोगितामा १ सय ४२ खेलाडीले प्रतिस्पर्धा गरे, जुन नेपाली चेसमा महिला खेलाडीको कीर्तिमान सहभागिता हो । गत वर्ष आयोजित हिमालयन तीज टोर्नीमा ३७ खेलाडी सहभागी थिए, जसलाई हिमालयन क्वीन्स ग्याम्बिटले उछिनेको हो ।
विद्यालयतर्फ मनकामना सेकेन्डरी पहिलो, मार्भलस बोर्डिङ दोस्रो र महेन्द्र मावि तेस्रोमा रहे । यु १० तर्फ अनिशा तामाङ पहिलो, अनन्य रौनियार दोस्रो र ऋतिका सेढाईं तेस्रो भए । यु १३ तर्फ विपासना शाक्य पहिलो, नायुमा मगर दोस्रो र रिजला राज भण्डारी तेस्रो भए । यु १६ तर्फ सोनालिका शाह पहिलो, याशवी महर्जन दोस्रो र आरोही श्रेष्ठ तेस्रो स्थानमा रहे ।
त्यस्तै, भेट्रान ५० वर्षमाथि रुक्मणि जिमी च्याम्पियन भइन् भने राधा राई उपविजेता भइन् । शुभानी पण्डितले बेस्ट एचसीए, आकृति नगरकोटीले बेस्ट जेभियरियन, रोशिका श्रेष्ठले बेस्ट स्पोर्टसम्यानसिप, स्मारिका डुम्रेले राइजिङ प्लेयर, सूक्ष्मायंका जैशीले बेस्ट इम्प्रुभ्मेन्ट अवार्ड हात पारे ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल बुद्धिचाल महासङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राई, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, सेन्ट जेभियर कलेजका भाइस प्रिन्सिपल गेहेन्द्रबहादुर चन्द र फिडे कसिन फर वुमेन्स चेसकी सदस्य मोनालिसा खम्बू (हिमालयन चेस एकेडेमीकी संस्थापक) ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।