एनआरएनए युके उपाध्यक्षमा महिला उद्यमी डा. रक्षाद्वारा उम्मेदवारी घोषणा

लन्डन–लन्डनस्थित एक सफल महिला उद्यमी डा. रक्षा थापाले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । बिहीबार लन्डनमा आयोजित एक समारोहबिच डा. थापाले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
लन्डनको एक सफल व्यावसायिक कम्पनी माया सर्पोटेड लिभिङकी निर्देशक उनले आफ्नो उम्मेदवारी कुनै राजनीतिक प्यानलबाट नभई स्वतन्त्र रहेको पनि प्रस्ट्याइन् ।
घोषणा सभामा डा. थापाले आफूले लामो समयदेखि सामाजिक सङ्घसंस्थामा सक्रिय भूमिका निर्वाह गरेको जनाउँदै आफ्नो सम्पूर्ण कार्यकाल नेपाली समुदायको हित, सम्मान र समृद्धिमा समर्पित गर्ने दृढ प्रतिबद्धता व्यक्त गरिन् ।
उनले बुँदागत रूपमा ११ प्रतिबद्धता सार्वजनिक गर्दै संस्थागत संरचना सुदृढीकरण र एकता प्रवर्धन, युवा सशक्तीकरण र नेतृत्व विकास, नेपाली संघसंस्थाबीचको एकता र सहकार्य सुदृढ गर्दै एनआरएन अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
गोर्खाहरूको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले गोर्खाहरूका माग पुरा गर्न बेलायत र नेपाल सरकार एवं सम्बन्धित निकायहरूसँग समन्वय गर्ने लगायत प्रतिबद्धता उनको छ । आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई दृष्टिकोण, आवाज र भविष्यको छनोट रहेको जनाउँदै डा. थापाले सबैसँग सहकार्य गर्दै समावेशी, सशक्त र प्रभावकारी एनआरएनए युके निर्माणमा अग्रसर हुने जनाइन् । ‘संस्था बिग्रेको छ, रोग लागेको छ भनेर छाड्नु भन्दा उपचार गर्न म अगाडि सरेको हुँ’, थापाले भनिन् ।

एनआरएनमा प्राध्यापक, अनुसन्धानकर्ता र बुद्धिजीवीहरूलाई समेत जोडेर ज्ञान साटासाट, सही निर्णयमा सहयोग र विदेशमा नेपाली प्रतिभाको समुचित प्रतिनिधित्व गराउने उनको योजना छ ।
घोषणा सभामा विभिन्न सङ्घसंस्थाका अगुवाहरूले अग्रिम शुभकामना दिएका छन् । शुभकामना मन्तव्यका क्रममा डा. थापाका श्रीमान् राज पाण्डेले संस्थालाई बाहिरबाट गाली गरेर होइन, संस्थाभित्रै रहेर सुधार गर्न सकिने विश्वासका साथ उनलाई अगाडि बढ्न प्रोत्साहित गरेको बताए । पाण्डेले संस्थामा राजनीति गर्न नभई काम गर्न आएको पनि उल्लेख गरे ।
यती नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले थापालाई जिताउन खुलेरै लाग्ने बताए । उनले सबै मतदातालाई मत दिएर नेतृत्वमा महिलालाई अवसर दिन अपिल गरे ।
यती नेपाली एसोसिएसन युके अध्यक्ष टङ्क भट्टराईले डा. थापाले यसअघि व्यावसायिक र सामाजिक नेतृत्व प्रमाणित गरिसकेको जनाउँदै अब सङ्घमा युवाहरूको खाँचो रहेको बताए । आरजीएनएसका पूर्व अध्यक्ष पुण्य रेग्मीले हेटौँडाको सामान्य परिवारबाट युके आएर थापाले यहाँ व्यवसाय तथा सामाजिक क्षेत्रमा उदाहरणीय र प्रेरणादायी सफलता हासिल गरेको बताए । उनले डा. थापालाई विश्वास गर्नु समग्र युवा पुस्तालाई नै अवसर र प्राथमिकता दिनु रहेको जनाउँदै मत दिन आग्रह गरे ।
सोसाइटी अफ नेपलिज प्रोफेसनल युके अध्यक्ष गजेन कटुवालले एनआरएनए, नेता र बेलायतको डायस्पोरामाथि नकारात्मक टीकाटिप्पणी भइरहेको र संस्थाको साख खस्किँदा अब रक्षा थापाले त्यसलाई रक्षा गर्ने धारणा राखे ।
नेपलिज नर्सिङ एसोसिएसन युकेका पूर्व अध्यक्ष विनोद विकास सिम्खडाले लिडरसिप क्वालिटी, योग्यता र विचारका कारण रक्षाहरू नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।
स्लाउ नेपलिज सोसाइटी युकेका अध्यक्ष लेखनाथ घिमिरेले बेलायतको सबैभन्दा रोगी संस्था एनआरएनए युकेलाई डा. रक्षाले सुशासन र वित्तीय पारदर्शी तामार्फत रोगबाट बाहिर आउन मद्दत गर्ने आशा व्यक्त गर्दै जीतका लागि शुभकामना दिए ।
एनआरएनए युके निर्वाचन आउँदो २६ जुलाईमा अनलाइनमार्फत हुँदै छ ।