सृजनशील टेबल टेनिस व्यक्तित्व अनिता
Manoj Shiama
23 October, 2021 10:41 am

पछिल्ला केही महिना यता टेबल टेनिस खेलाडी अनिता महर्जन धेरै नै व्यस्त रहिन् । अन्य आम खेलाडीले भन्दा फरक सृजनात्मक सोचाए भएकी उनी एरोबीक्स टेबल टेनिस (युके)को एम्बसडर पार्टनर, प्रमोटर तथा प्रशिक्षक रहेकी छिन् । उनले सञ्चालनमा ल्याएको एनीज पिङपङ क्लब टेबल टेनिसको सर्वोच्च निकाय आइटिटिएफको महिला इम्पावरमेन्टको सुचीमा सुचीकृत भएको छ । यो सायद नेपालीका लागि गर्वको विषय हो । यस अघि उनी २०१९ मा नेसनल हिरो अवार्डमा मनोनयनमा परेकी थिइन् ।
प्रशिक्षण कोर्सको सुरुवात गर्ने क्रममा उनले २०१४ मै उनले लेभल वान कोर्स गरेकी थिइन् । स्वीजरल्यान्डका प्रशिक्षक जर्ज सो समयका उनका प्रशिक्षक थिए । नेपाल एपीएम टेबल टेनिस एकेडेमीले सञ्चालन गरेको क्र्यास कोर्स पुरा गरेकी उनले २०७५ मा एभीएम स्कुल चामती विशेष प्रशिक्षण क्लासमा सहभागिता जनाएकी थिइन् ।
खेलाडीको रूपमा उनको जीवनमा धेरै आरोह अवरोह देखिएको थियो । वि.स २०७१ मा कोरियामा भएको युनिभर्सीयाडमा उनी नेपालको तर्फबाट सहभागी भएकी थिइन् ।
त्यसो त टेबल टेनिस खेलाडीको रूपमा २ दशक भन्दा बढी समय बिताएकी उनले पहिलो सफलताको रूपमा बि.स २०५७ मा प्रथम मेयर कप अन्तर विद्यालय च्याम्पियनसिपमा महिला एकलमा तेस्रो स्थान हात पारेकी थिइन् । .बि.स २०२९ मा भएको प्रतियोगितामा उनले महिला एकलमा कांस्य पदक जितिन् भने सोही वर्ष भएको प्रतियोगिताको टिम इभेन्टमा कांस्य दिक जितिन् ।बि.स २०६० मा उनले टेबल टेनिस सङ्घको आयोजनामै भएको प्रतियोगितामा १४ वर्ष मुनीको समूहमा महिलामा कांस्य पदक जितेकी हुन् । यस भन्दा अघि बि.स२०५९ मै भएको दोस्रो मेयर कप अन्त विद्यालय टेबल टेनिस च्याम्पियनसिपमा उनी १४ वर्ष मुनीको समूहमा तेस्रो तथा महिला युगलमा पहिलो भइन् ।
२०६० मा सम्पन्न कृष्ण ध्वज स्मृति टेबल टेनिस च्याम्पियनसिपमा उनी १४ वर्ष मुनीको समूहमा पहिलो, महिला युगलमा पहिलो तथा महिला टिम इभेन्टमा दोस्रो भइन् ।
सोही वर्ष तेस्रो पूर्ण मान स्मृति तथा दोस्रो नवीन सुबेदी स्मृति टेबल टेनिस प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा उनले महिला युगल र महिला टिम इभेन्टमा स्वर्ण पदक जितिन् ।
सोही वर्ष हिमालय विद्या मन्दिर सिफलमा भएको अन्तर विद्यालय स्पोर्ट्स मिटमा उनले १८ वर्ष मुनीको महिला एकल र महिला टिम इभेन्टमा दोस्रो स्थान पाइन् । सोही वर्ष भएको राष्ट्रिय च्याम्पियनसिपको टिम इभेन्टमा उनी तेस्रो भइन् । ६० को दशकको मध्यसम्ममा अनेकन् विद्यालय स्तरीय प्रतियोगितामा सफलता पाएकी उनी २०६५ मा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा महिला टिम इभेन्टमा पहिलो तथा एकलमा दोस्रो भएकी थिइन् । सोही वर्ष भएको कलेज तथा विद्यालय स्तरीय प्रतियोगितामा उनी प्राइम कलेजको प्रतिनिधित्व गर्दै टिम इभेन्टमा पहिलो, महिला एकलमा दोस्रो तथा महिला युगलमा तेस्रो भइन् ।टेबल टेनिसमा आरोह अवरोह सहेकी उनी केही समय बोर्डबाट टाढा रहेकी पनि थिइन् । २०६९ मा धनगढीमा भएको ३५ औ राष्ट्रिय च्याम्पियनसिपमा उनी मिश्रित युगलमा दोस्रो भएकी थिइन् । २०७१ मा भएको राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिपमा उनी आबद्ध एपीएफ टोली दोस्रो भएको थियो ।
२०७२ मा विराटनगरमा भएको ३७ औ राष्ट्रिय टेबल टेनिस च्याम्पियनसिपमा उनको टोली एपीएफ टिम इभेन्टमा दोस्रो भएको थियो । यसको एक वर्ष पछि काठमाडौँमा भएको टेबल टेनिस च्याम्पियनसिपमा पनि उनको टोली उप विजयी भएको थियो । बि.स २०७३ मा भएको सम्झना कप टेबल टेनिस च्याम्पियनसिपमा उनी तेस्रो हुन सफल भइन् ।
विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुदमा उनी सहितको एपीएफ टोली दोस्रो भयो भने दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा तथा रुपन्देही जिल्ला सङ्घले आयोजना गरेको प्रतियोगितामा एपीएफ टोली उप विजयी भयो । २०७६ मा भएको तेस्रो सम्झना कपमा पनि उनी सहितको एपीएफ टोली उप विजयी भएको थियो ।
विभिन्न विद्यालयमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेकी उनी अहिले खेलकुदको अलावा अन्य सामाजिक क्रियाकलापमा संलग्न रहेकी छिन् । उनको सृजनशीलता, उनको मेहनत र उनको सक्रियताले सायद टेबल टेनिसमा केही आयाम थपिने छ । एनीज पिङपङ क्लबका केही अवधारणाले अबका केही समयमा यसलाई माथिल्लो उचाइमा लैजान सक्ने सम्भावना प्रबल छ ।