परिपक्व र दृढ मानसिकताको प्रतीक फेन्सर अनिता

रामेछाप चुचुरेको एक सामान्य परिवार । त्यसै परिवारमा पूर्ण बहादुर कार्की र तारामायाका सात सन्तान । अनुशासित वातावरणमा हुर्किएका यी सात जनामा सबै उत्तिकै  अनुशासित मात्र होइन , समाज र परिवार प्रति उत्तिकै जिम्मेवार । माहिली छोरी अनिता कार्की,२६ वर्षकी भइन् । परन्तु उनको जिम्मेवारी बोध र समाज प्रतिको दायित्व बहनको सोचकै कारण उनले यस बिचमा सफलताका धेरै सिँढी चढी सकेकी छिन् ।
आम नेपालीले पाउने सफलता भनेको दक्षिण एसियाली खेलकुद नै हो । टिम गेममा त दक्षिण एसियाली खेलकुदमा नेपालको सबैभन्दा बढी सम्भावना रजत पदक नै हो । कारण प्रस्ट छ, यसै दक्षिण एसियाको देश भारत धेरै खेलमा हामी भन्दा धेरै माथि छ । यस कारण नेपाली खेलकुदको टिम स्पर्धामा रजत पदकको पनि धेरै महत्त्व छ । सन् २०१९ को अन्त्यमा काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले फेन्सिङमा जितेका थुप्रै पदक मध्य एपेको महिला टिम स्पर्धा पनि समावेश थियो । यसै स्पर्धामा रजत पदक विजेता नेपाली टोलीमा अनिता पनि सदस्य थिइन् । खेल जीवनको छोटो समयमा भएका धेरै आरोह अवरोहमा यो पदकको विशेष महत्त्व र स्थान छ ।


अन्य आम नेपालीको र अनिताको जीवनमा धेरै समानता हुने नै भए । घर परिवारका जिम्मेवारी पनि पुरा गर्न सहज हुने र फोर्समा जागिर पनि खाने उनको इच्छा  थियो । एसएलसी उत्तीर्ण गरे पछि उनी बि.स २०७० मा सशस्त्र प्रहरीमा आबद्ध भइन् । बि.स उनी भक्तपुरको दुवाकोट गणमा रहेको समयमा फेन्सिङ खेल्नकै लागि एपीएफ क्लबमा आबद्ध भइन् ।
०७४ मा विराटनगरमा सातौँ राष्ट्रिय खेलकुदमा उनको टिम एपीएफ एपेमा रजत पदक पाएका थियो । यस अघि एक ओपन फेन्सिङ च्याम्पियनसिप भएको थियो । यसमा भने उनी सहभागी थिइनन् । यस पछि भएको अर्को एपे च्याम्पियनसिपमा उनले काश्य पदक जितिन् । यो उनको खेल जीवनको पहिलो एकल पदक थियो ।

अर्को वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय च्याम्पियनसिपमा अनिताले स्वर्ण पदक जितिन् । यस पछि उनको अन्तर्राष्ट्रिय सहभागिताको बाटो पनि खुलेको थियो । इटालीमा भएको युनभर्सीयाडमा सहभागी उनले अहिले पनि विश्व विद्यालय खेलकुद सङ्घले गरेको सहयोग र त्यो यात्राका लागि तयार गरेको वातावरणका लागि आभार व्यक्त गर्न चाहन्छिन् ।
थाइल्यान्डमा भएको सीयु च्याम्पियनसिपमा पनि उनी टिममा रजत पदक जित्न सफल  भएकी थिइन् । सोही प्रतियोगिताको एकल स्पर्धामा उनले काश्य पदक जितेकी थिइन् । नेपालमा भने उनको प्रदर्शन अस्थिर नै रह्यो । सीयु च्याम्पियनसिप भन्दा अघि भएको आठौँ राष्ट्रिय खेलकुदमा उनी फेरी काश्य पदकमा सीमित भएकी थिइन् । घरेलु प्रतियोगिताकै हकमा उनले एकलमा पदक विजेताको राष्ट्रिय च्याम्पियनसिप र आठौँ राष्ट्रिय खेलकुदमै उनको टिम उप विजयी भएको थियो ।


यस पछि भएको साग खेलको छनोटमा उनी पहिलो भइन् । परन्तु इन्दिरा पौडेलसँगको हारले उनी एकलमा पदक विहीन भइन् । तथापि टिममा नेपालले पाकिस्तान र बङ्गलादेशलाई पराजित गर्दै फाइनल यात्रा तय गर्न सफल भयो । फाइनलमा भारतसँग पराजित नेपाली टोली उपविजेता बन्यो । टिममा भने उनले एकदम राम्रो प्रदर्शन गरेकी थिइन् । यसमा उनी पूर्ण सन्तुष्ट रहिन् ।
अन्य आम नेपालीका झैँ उनका पनि यावत जीवनका कथा छन् । ती कथा छरपस्ट पार्न आवश्यक पनि उनी ठान्दिनन् । परन्तु यो लामो यात्रामा सबैभन्दा बढी बाबु पूर्ण बहादुर कार्की र आमा तारा माया कार्कीकै सबैभन्दा ठुलो भूमिका रहेको उनी बताउँछिन् । साथमा प्रशिक्षक, एपीएफ क्लब,फेन्सिङ सङ्घ र टिमका अन्य सहयात्रीको सहयोग र भूमिका त छदै छ । रामेछाप, चुचुरेको बाल्यकाल देखि दोलखाको गौरी शङ्कर कलेज हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिताको पदक विजेता हुँदासम्म थुप्रै सङ्घर्षका कथा छन् । जुन सङ्घर्षका कथाले नै उनलाई मानसिक रूपमा अझ बलियो बनाएको छ ।

Comment