नक्साल देखि पोखरा थन्डर्ससम्मका सफलताका पाइला

सन् २००० को समय । काठमाडौँमा भएको एएफसी यु–१७ छनोट खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो । एसियाली स्तरको प्रतियोगितामा छनोट भएर कीर्तिमानी यात्रा तय गरेको नेपाली टोलीका धेरै खेलाडी अहिले पनि फुटबलको दुनियाँमा सक्रिय छन् ।  मैदानमा चुस्त खेल र सही नेतृत्वका कारण सवैका प्रिय बनेका सोही टोलीका कप्तान नवीन न्यौपाने दुई दशक पछि भिन्न भूमिकामा नेपाली फुटबलमा छाएका छन् । नेपाल आर्मी क्लबलाई एक पछि अर्को उपाधि दिलाएका नवीन अहिले पोखरा थन्डर्सका प्रशिक्षक छन् । तिनै प्रशिक्षक नवीनको योजना मुताबिक पोखराले बनाएको टोली सन्तुलित मात्र होइन , उपाधि दाबेदारको रूपमा धेरैको आँखामा परेको छ ।
संयोग मान्नु पर्छ बि.स २०५७ को  समयमा नेपाली फुटबलमा ओभरल्याप, टिमका अन्य खेलाडीसँगको समन्वय र पिन प्वाइन्ट क्रसका कारण दायाँ रक्षक र दायाँ विंगरको भूमिकामा उत्तिकै छाएका नवीनको साथमा पोखराको टोलीमा त्यसै समय नेपाली फुटबलमा फास्ट फुटबलरको भिन्न छवि बनाएका राजेश शाही पनि रहेका छन् । यी दुईको समन्वयमा जसरी मनाङ मर्स्याङ्दी क्लबले एक पछि अर्को उपाधि हात पारेको थियो , आशा गरौँ, आसन्न एनएसएलमा यी दुईका प्रशिक्षकीय समन्वयमा पोखराले केही कमाल देखाउने छ । त्यसो त नवीनले खेलाडीको रूपमा बि.स २०५४ कै लिग देखि पाइला टेकेका थिए । उनी त्यही नक्साल युवा मण्डलका खेलाडी थिए , जुन टोलीसँगको हारका कारण बि.स २०५४ मा मनाङ मर्स्याङ्दी क्लब(एएमसी)को उपाधि यात्रामा पछाडि धकेलिएको थियो । त्यसै मनाङ मर्स्याङ्दी नवीन सन् २००० देखि आबद्ध भए ।
नवीनका लागि एमएमसीको सुरुवाती यात्रामा कम चुनौती थिएन । दीपक लामा, कुमार थापा, राजेश शाही र  वसन्त गौचन सहितको मध्यपक्ति भएको टोलीमा उनको स्थान नै कठिन मानिन्थ्यो । उनको मेहनत र केही संयोगका कारण नवीन टोलीका महत्त्वपूर्ण खेलाडी मात्र भएनन् छोटो समयमा नेपाली राष्ट्रिय टोलीमा अटाउन सफल भए । त्यसो त केही समय पछि एमएमसीको रक्षापक्तिमा ठुलो खाडल परे पछि यसलाई पुर्ने काममा पनि नवीनको उपयोग गरियो । यो नयाँ जिम्मेवारी पुरा गर्दै दायाँ रक्षक बनेको नवीन राष्ट्रिय टोलीमा समेत दुवै भूमिकाका लागि उपयुक्त खेलाडीको रूपमा देखिएका थिए ।
विनोद डङ्गोल, वसन्त गौचन, उमेश उप्रेती र अनिल गुरुङको साथमा नवीन न्यौपाने

सन् २००२ को ओलम्पिक छनोट खेल खेलेका नवीन सन् २००३ मा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा अटाए । सन् २००५ मा यसको अर्को संस्करण हुनु अगावै सन् २००४ मा उनले पाकिस्तानमा भएको साग खेलमा नेपाली टोलीको नेतृत्व गरे । सन् २००३ मा नेपाm ओमन र कोरियामा भएको एसियाली च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीमा पन उनी समावेश थिए । सन् २०१० मै नेपाल र ओमानमा भएको विश्वकप छनोट खेल खेलेका नवीनले क्लब फुटबलमा सफलता पाए पछि सन् २००३ मा मलेसिया र सन् २००८ मा बङ्गलादेशमा भएको प्रेसिडेन्ट कपमा सहभागिता जनाए । सन् २०००,२००२,२०१३र २०१४ मा भुटानमा भएको किङ्स कपमा उनको उपस्थिति थियो ।

प्रशिक्षकको रूपमा एमएमसीमा लामो समय बिताएका उनले सन् २०१३ मा मङ्गोलिया र श्रीलङ्कामा भएको प्रेसिडेन्ट कपमा पनि एमएमसीको प्रतिनिधित्व गरेका थिए ।
यिनले खेलाडीको रूपमा गरेको योगदानको कदर स्वरूप बि.स २०६५ मा रूपक स्मृति मस्ट भ्यालुएबल प्लेयर अवार्ड पाउन सफल भए । बि.स२०५७,२०६०,२०६२ र २०७० मा लिग च्याम्पियन भए । खेलाडी र प्रशिक्षकको रूपमा एक पछि अर्को सफलता पाएका एएफसी ए लाइसेन्स प्रशिक्षक नवीन बि.स २०७३ देखि नेपाल आर्मी क्लबमा आबद्ध छन् । यस क्लबलाई दिलाएका थुप्रै सफलतालाई नजिक बाट हेर्नेहरू अर्को महिना हुने एनएसएलमा पोखराको खेल हेर्न पनि त्यत्तिकै आतुर छन् ।
Comment