कायस्थ परिवारमा उदाइन्, अर्की स्टार

भविष्यमा राम्रो खेलाडी बन्ने सपना सहित टेनिस खेलमा समर्पित सुनीरा थापा, आफ्नो उमेर समूहको शीर्ष बरीयताकी खेलाडी । यु–८ हुँदै खेल्दै आएकी सुनिराले हरेक उमेर समूहमा सो साख कायम राखेकी छिन् ।
उमेर समूहको यो सफलतासँगै खुला प्रतियोगितामा पनि उनले पाइला चाल्ने दिन नजिकिई सकेको छ । हाल यु–१४ समूहकी उनले खुला प्रतियोगिता खेल्नका लागि डेढ वर्ष अझै कुर्नु पर्ने छ । हालको उनका उत्कृष्टतालाई नजिकबाट हेरेकी उनकी आमा निरा कायस्थ छोरी सीनीयर तहमा खेल्न लायक हुने बित्तिकै उपाधि माथि आँखा लगाउनेमा आशावादी रहेकी छिन् ।
१५ वटाका हाराहारीमा उपाधि जितेकी सुनिराले ¥याकेट समातेको बच्चामै हो । ८ वर्षकै उमेरमा उनले स्टार खेलाडी हुने सम्भावना देखाएकी हुन् ।


आमा निरा कायस्थबाट प्रभावित सुनिरा यस्ती खेलाडी हुन् जसको रगतमा नै खेलकुद थियो । आमा निरा सन् १९९० देखि १९९६ सम्म सफ्ट टेनिसमा शीर्ष बरीयताकी खेलाडी थिइन् । सन् २००४ देखि सन् २००९ सम्म शीर्ष बरीयताकी खेलाडी थिइन् ।
पाँचौँ राष्ट्रिय खेलकुदमा तीन स्वर्ण पदक जितेकी निराले सोही समयमा प्रशिक्षणमा इच्छुक भएकी कारण खेलाडी जीवन त्याग्ने सोच बनाएकी थिइन् । परन्तु, राज्यको कुनै नीति नभएका कारण उनी फेरी खेलाडीकै रूपमा कोर्टमा फर्किएकी हुन् ।
तीन पटक एसियाडमा सहभागिता जनाएकी निरालाई चुनौती दिने अन्य कोही नभएर उनकै बहिनी निरु कायस्थ थिइन् । बिचको केही वर्ष निरु नेपालको शीर्ष बरीयताकी खेलाडी थिइन् ।
सुनिराको एउटा संयोग छ । पाँचौँ राष्ट्रिय खेलकुदको समयमा सुनिरा ८ महिनाकी थिइन् । सोही समयमा आमाले जितेको पदक उनले समाएकी थिइन् । अन्दाजी सात वर्षको उमेरमा उनले खेलका बारे बुझ्न थालिन् ।
आमा निराको सदैको लक्ष्य छोरीलाई संस्कार युक्त बनाउने भन्ने हो । ‘छोरी टेनिसकी स्टार भए त राम्रो हो । नभए पनि संस्कार र वातावरण राम्रो दिनका लागि टेनिस खेल उपयोगी भएको छ । ’
सुनिराले पहिलो पटक १० वर्षको उमेरमा दक्षिण कोरियाको सुन्जाङ र यांङगुमा यु–१२ स्पर्धाको प्रतियोगितामा सहभागी भएकी थिइन् । भारतको नयाँ दिल्लीमा दुई पटक यु–१४ स्पर्धामा सहभागिता जनाएकी उनले मलेसियाली जोडी जोलीनसंग मिलेर क्वार्टर फाइनलको यात्रा तय गरेकी हुन् ।


उनले यो सफलता उनले सन् २०२० को फेब्रुअरीमा पाएकी हुन् । यस पछि उनी मात्र होइन, सिङ्गो संसार एउटा महामारीसँग जुधेर बसेको छ । उनी आशावादी पनि छिन्, की संसारले छिटो नै यस महामारीबाट पार पाउने छ । पुरानो रमाइलो संसार फेरी फिर्ता हुने र आफ्नो स्तर वृद्धिमा पूर्ण रूपमा लाग्नु पर्नेमा उनी विश्वस्त छिन् ।
उमेर समूहमा एसियाली तहमा ७७ औ बरीयतामा रहेकी उनी यस महामारी भन्दा अघि वरीयता सुधार गर्नेमा आशावादी पनि रहेकी थिइन् । प्रतियोगिता सुरु हुन थाले पछि फेरी वरीयता सुधार हुने उनको अपेक्षा छ ।

हालै भएको तेस्रो आइएमइ जुनियर टेनिस च्याम्पियनको उपाधिसँगै उनले उत्कृष्ट पुनरागमन गरेकी छिन् । यसै प्रतियोगितामा उनले १८ हजार रुपैयाँ पुरस्कार पाइन् । नेपाली टेनिस कोर्टमा हरेक दिन थुप्रै बालकहरू आफ्नो भविष्य खोज्दै प्रशिक्षण गरिरहेका हुन्छन् । यस प्रशिक्षणमा नेपाली खेलकुदको विगत र भविष्यको सम्भावना जोडिएको यो आमा छोरीले विगत ६ वर्ष देखिको संयुक्त मेहनतको फल सायद केही वर्ष नेपाली टेनिसले पाउने नै छ । यो मेहनतमा साथ दिने प्रशिक्षक राज कुमार लामाका लागि पनि यो सफलता महत्त्वपूर्ण रहने छ । आशा मात्र होइन, विश्वास गरौँ की नेपालका प्राय सिनीयर प्रशिक्षकले समेत निगरानीमा राखेकी सुनिराको सफलताले एक दिन यो आमा छोरी मात्र होइन सिङ्गो टेनिस जगतमा अनुपम खुसी दिने छ ।

Comment